• २०८१ चैत ६ बिहीबार

सभ्यताको घोषणापत्र

नोर्देन रुम्बा

नोर्देन रुम्बा

मान्छेहरू
एकले अर्कोदेखि डराउनु परेको देख्दा
देशहरू,
एकले अर्कोलाई हराउनु परेको देख्दा
जिन्दगीहरू,
विश्वास, आत्मविश्वास हराएर
आफैले सुन्नु
यहाँ जोरसित कराउनु परेको देख्दा
मलाई हत्केलाभरि युयुत्साहरू
आक्रमणहरू आँखाभरि
र, ओँठभरि विश्वास उठाएर
सगरमाथामा चढेर केवल एकपल्ट भन्न मनलाग्छ,
अब मान्छेले मान्छेलाई विश्वास गर्ने
समय आएको छ,
अब मान्छेले आफैलाई विश्वास गर्ने समय आएको छ,
अब मान्छे मात्रको अधिकार हो !
यसर्थ, अब मान्छेले मान्छेलाई चिन्ने,
मान्छेले मान्छेलाई बुझ्ने,
मान्छेले मान्छेलाई जान्ने,
र,
मान्छे मान्छेको निम्ति मर्ने होइन
सारा विश्वको गौरव राख्न
मान्छे मान्छेको लागि बाँच्ने
समय आएको छ !!


नोर्देन रुम्बा