वल्लाघर- पल्लाघर, तल्लाघर- माथ्लाघर, छर- छिमेकका प्रायः सबै युवा, युवतीहरू रोजगारका लागि विदेश जाने आउँने गर्छन् । कसैको गलामा विदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुवईबाट फर्केको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट टुप्लुक्क आइपुग्यो ।
बाबाले विदेशबाट ल्याइदिएको खेलौनासँग खेल्दै खुशीले आँगनमा उफ्रिरहेको आकासलाई देखेर अन्जुले आँखाभरि आसुँ पार्दै रुन्चे स्वरमा आमालाई सोधी, मामु हाम्रो बाबा पनि विदेशबाट कहिले आउँनु हुन्छ ? आउँदा मलाई पनि आकासको जस्तै खेलौना अनि कम्प्यूटर ल्याई दिनु हुन्छ हगि ?
छोरीका प्रश्नको प्रतिउत्तरमा उनका आँखाबाट आसुँ झर्न थाले । उनलाई धेरै दिनपछि आजफेरि विदेशमा मृत्यु भएका आफ्ना श्रीमानको पीडा बल्झियो । उनीले केवल काखमा बसेकी सानी छोरीको टाउको सुम्सुम्याई रहिन् । गालाका पेट चिर्दै उनका आँखाबाट निरन्तर आसुँ झरिरहे ।