• २०८१ पौष २९ सोमबार

सरले त भन्नुभएको थियो !

धनराज गिरी

धनराज गिरी

(सज्जनबहादुर परियार, अभावसुन्दरीको प्रेमी, दुर्भिक्षनगरमा वास, असजिलोसित फेरेको सास, उही कपडाको काम खास । अति सुन्दर दुहिता,सन्तानको नाममा, निर्दोषी परियार । कक्षा १० मा पढ्ने । एक दिन, छोरी विरूप बनेर घरमा आइन् र कोकोहोलो गरेर आफ्नो अस्मिता लुटिएको कुरूप कायाकैरन सुनाइन् । जमिन्दारको छोरा र मन्त्रीको सालो, राकसहरू।

न्याय पाएन सज्जनले । सबै उतै लागे,कोही कोही मौन । प्रहरीले उल्टो धम्क्यायो । गरीबले न्याय पाउन्न यो देशमा ! एक पाका मान्छेले चिया दोकानमा भने । निरीह गाउँलेहरू, धन र शक्तिको सामुन्ने नतमस्तक ! हरायो सज्जनको परिवार । कहाँ गए ? थाहा छैन । समय चिप्लियो । विस्मृतिको गर्तमा पुग्यो सज्जनको परिवार । हत्या, हत्या, हत्या, दौलतपुरमा नौ जनाको हत्या, हत्यारा पत्ता लागेन ! सनसनी समाचार । जमिनदारको छोरा, मन्त्रीको छोरा लगायत उसको पक्षमा वकालत गर्ने नौ जनाको हत्या भयो, गोलीले । कसले ? थाहा भएन ।

सरले त भन्नुभएको थियो ! सुमन पडरिया । के भन्नुभएको थियो ? कमलावतार आचार्य । यही, कुबेरको नक्कली इज्जत र बाहिरी स्वाभिमानको सुरक्षा कवच द्रव्यशाह हो, हाटकको नाटक, दुई दिने, तर गरीबको भित्री सक्कली इज्जत र सक्कली स्वाभिमान जोगाउने, गरीबलाई न्याय दिलाउने एक मात्र निर्विकल्प विकल्प हो  बन्दूक -यो काम, निसन्देह सज्जनबहादुर परियारको हो, ऊ छापामार भयो, पक्कै पनि, समाजले आफैं वैकल्पिक शक्ति जन्माउने गर्छ । हाम्रो गुरु  प्रोफेसर न्यायनारायण आशुतोष गजलश्रीको अनुमान, शाश्वत वाणी, खेर गएन । साथी हो,पाप कराएको हो । धनको आड दिगो हुन्न । यो पूँजीवादको पराजय हो । अर्थोष्मा राम्रो होइन ।  सरले त भन्नुभएको थियो, अन्यायको जीत दुई दिने हो, दिखावा ! सत्य सावित भयो ।
गुरुको बोली खेर जान्न, गएको छैन ! मोहन रिजाल । हत्यारा पत्ता लागेन । रहस्य, रहस्य नै रह्यो ।


-धनराज गिरी