• २०८२ आश्विन ६, सोमबार

कवि विष्णुविभु घिमिरेको ‘हुरीको इन्द्रेणी उक्लेर’ कवितासंग्रह प्रकाशित

वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेको नयाँ कविताकृति ‘हुरीको इन्द्रेणी उक्लेर’ बजारमा आएको छ । मानव जीवनका समसामयिक विषयमाथि गहिरो र फरक चिन्तन गरेर लेखिएका ४६ वटा लामाछोटा कविता यस कृतिमा समेटिएको छ । उनका समकालीन कवि मित्रहरू दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ र अशेष मल्लले कवितामाथि भूमिका लेख्दै घिमिरेको काव्यकारिताप्रति गर्व गरेका छन् ।

यस्तै यो कृतिमा वरिष्ठ कवि बैरागी काइँलाले पनि भूमिका लेखेका छन् । भूमिकामा काइँला लेख्छन्- नेपाली कविताको लोकप्रिय समकालीन काव्यधाराका एकजना प्रमुख र लोकप्रिय कवि हुन्, विष्णुविभु घिमिरे । कविता लेखनमा पाँच दशक विताएका घिमिरेले थोरै तर उच्चकोटीका कविता लेख्ने कविको परिचय बनाउन सफल भएका छन् । घिमिरेका ‘काँडाकाँडामा टेकेर’ र ‘कठघरामा उभिएर’ नेपाली कविता साहित्यका चर्चित काव्यकृति हुन् । उनको तेस्रो काव्यकृति ‘हुरीको इन्द्रेणी उक्लेर’ कविताकृति माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।