• २०८१ माघ १० बिहीबार

प्रयागको बाह्रवर्षे कुम्भमेला

ईश्वर पोखरेल

ईश्वर पोखरेल

प्रयागको बाह्रवर्षे कुम्भमेलामा नुहाउन जाने बाआमाको योजना बनेछ । बहिनी शान्ता पनि जाने भइछे । अरु पनि चिनेजानेका धेरै मानिसहरू जाने भएछन् । निजगढका पं. रामप्रपन्नाचार्य गुरुले संयोजन गर्नु हुनु भएछ- यो तीर्थयात्रा । प्रारम्भमा मैले सुनेका कुरा यिनै थिए । म हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापनरत् थिएँ । घरबाट नजिक मै थिएँ । पुनपुन, गया, बोधगया, वनारस, हरिद्धार, जमुनोत्री, केदारनाथ, गंगोत्री र वद्रीनाथसम्मको २३ दिने तीर्थयात्रामा पनि बा, आमा र काकाबाको साथमा क्याम्पसमा लामो विदा लिएर म गएको थिएँ ।

बाले घर (चन्द्रपुर- ६, बजारटोल, रौतहट)बाट फोन गर्नु भयो र प्रस्थान मितिका बारेमा जानकारी गराउनु भयो । र, भन्नु भयो- ‘तँ वीरगंजमै सोझै आए हुन्छ ।’ मसंंग ‘म भ्याउँदिनँ’ भन्ने अवस्था र स्वभाव दुवै थिएन तर ‘भ्याउन’ पनि अनेकन् प्रक्रिया पूरा गर्नु थियो । म निर्धारित समयमै वीरगंज पुगें । चन्द्रनिगाहपुर, निजगढ र त्यसको आसपासका तीर्थयात्री रहेछन्- हाम्रा डफ्फामा । आधासरो चिनेजानेकै मानिसहरू थिए- नातेदार, छरछिमेकी र एउटै टोलका बासिन्दा । कतिपय तीर्थयात्रीचै अपरिचित, पहिले भेटघाट नभएका । बैसठ्रठी जनाको डफ्फा थियो- हाम्रो । हाम्रो समूहमा आस्थाका दृष्टिले हेर्दा धेरै श्रीवैष्णव थिए । हाम्रो बा आमा पहिल्यै श्रीवैष्णव हुनुहुन्थ्यो । वृद्धवृद्धाको संख्या धेरै थियो- हाम्रो डफ्फामा । सबैसंग आफ्नो बुताले भ्याएसम्मका झोला र कुम्लाकुटुरा थिए । तीर्थयात्रामा यस्तो हुनु स्वाभाविक पनि थियो ।

हाम्रो समूहका सदस्यहरूमा मेरो चिनजानको भन्दा वृहत् थियो- बाको चिनजान । बा सबैसंग बोल्नु हुन्थ्यो, सामथ्र्यले भ्याएसम्म सबैको ख्याल पनि गर्नुहुन्थ्यो । समूहमा लामो समयसम्म सन्नाटा छायो भने असजिलो लाग्थ्यो- हाम्रो बालाई । अनि अनेकन् प्रसङ्ग निकालेर कुराकानी प्रारम्भ गर्नुहुन्थ्यो: हँसाउनु पनि हुन्थ्यो । हिड्नु पर्दा जानुका दिदी र माहिली दिदीलाई अलि गाह्रो हुन्थ्यो; त्यसमाथि उहाँहरूकै भारी- गह्रौ । तर तीर्थयात्रीहरूका बीच आफ्नो सामान अरुलाई बोक्न दिए पाप लाग्छ भन्ने मान्यता रहेछ । त्यसैले दिदीहरू आफ्ना सामान अरुलाई बोक्न पनि नदिने । खाजा, सामल, ओड्ने, ओछ्याउने र सामान्य फेरफारका कपडाहरूले पनि झोला गह्रौ भई हाल्ने । बुढाबुढी र कमजोर तीर्थयात्रीलाई कम उमेरका सहयात्रीलाई भेटेर हिड्न अलि गाह्रै हुने । हाम्रो बा दिदीहरूको अवस्थालाई बढी ख्याल गर्नुहुन्थ्यो । वास्तवमा कतिपय तीर्थयात्री हाम्रो बाको उत्प्रेरणाकै कारणले तीर्थयात्राका लागि अग्रसर भएका थिए ।

गाडी वा रेलमा चढेपछि र गाडी वा रेलबाट उत्रिएपछि समूहका सदस्यहरूको गन्ती हुन्थ्यो । गुरुले बैसठ्ठी अङ्क उच्चारण गर्दा सबै तीर्थयात्रीको अनुहार धपक्क बल्थ्यो । तर प्रयाग पुग्नुअगावै बैसठ्ठीबाट एकसठ्ठी सदस्यीय भयौं- हामी । कोल्भीकी एकजना वृद्धा आमाजी डफ्फामा भेटिनु भएन । हामी सबैलाई नरमाइलो लाग्यो । हामी एकै ठाउँमा बसेर उहाँ आउने आशा गर्न थाल्यौं; कतिपय सदस्यहरू उहाँको खोजीमा लाग्नु भयो । तर उहाँ फेला पर्नु भएन । कतिपय तीर्थयात्रीले भने- ‘उहाँ तीर्थयात्रामा बारम्बार निस्किनु भएकी आमाजी । हिन्दी/भोजपुरी पनि टाक्कटुक्क बोल्नु हुन्छ । हराउनु हुन्न । हामी जाऔं ।’ तर बा सहमत हुनु भएन । हाम्रो साथमा आएको मान्छे हामीले पर्खिएरै संगै लैजानु पर्छ भन्ने अडान थियो- बाको । बाको अडानपछि हामीले थप एक घन्टा जति पर्खियौं तर आमाजी आइपुग्नु भएन ।’

हामी आएको रुटबाट नेपाली समाजका धेरै तीर्थयात्री आएका थिए । त्यसैले समूहबाट अलग्गिए पनि आमाजी नेपालीहरूका बीचमा सकुशल हुनुहुन्छ र कुनै न कुनै स्थानमा हामीले हामी बीचमा उहाँलाई पाउने छौ भन्ने आशा थियो- हाम्रो । तर प्रयाग पुग्दासम्म नै उहाँ भेटिनु भएन । प्रयाग हाम्रा लागि नौलो नाम थिएन । हाम्रा हजुरबा र हजुरआमा निम्बार्की वैष्णव हुनुहुन्थ्यो र तीर्थयात्रामा बारम्बार निस्किनु हुन्थ्यो । त्यसैले हामीले बारम्बार सुन्न पाएका थियौं- प्रयागको नाम । त्यसैले प्रयाग कुनै प्रशिद्ध तीर्थस्थल होला भन्ने सामान्य बुझाइ हामीमा पहिल्यैदेखि थियो । यही तीर्थयात्राबाट थाहा भयो- प्रयाग भारतको इलाहावादमा पर्ने क्षेत्र रहेछ । वास्तवमा गंगा, जमुना र सरस्वतीको संगम रहेछ- प्रयाग । महान नदीहरूको संगमस्थल भएकाले यहाँ बालुवैबालुवा थियो । यही बालुवामा बसोबासका लागि असंख्य टेन्टहरू निर्माण गरिएका थिए ।

हामी पुग्दा प्रयागमा कुहिरो लागेको थियो र मौसम चिसो थियो । यहाँ मानिसको महासागर नै थियो । केही गरी आफ्नो समूहबाट छुट्टियौं भने हामीले यस भीडमा फेरि आफ्नो समूहलाई फेला पार्न सक्दैनौं भन्ने त्रास थियो- हामी सबैमा । हामी हाम्रो डफ्फाका सदस्यहरू परस्परमा हात समातेर प्रयागको अत्यासलाग्दो मानवसमूहका बीचमा हिड्थ्यौं । प्रयागमा अनेकन् धार्मिक सम्प्रदायको बसोबास र खानपानको आ-आफ्नै बन्दोबस्त रहेछ । सबै सम्पद्रायमा सबैलाई खानपानका लागि स्वागत रहेछ । हामीलाई गुरुले आफ्नो सम्प्रदायको स्थानमा पुरयाउनु भयो । मेरी माइली बहिनी र ज्वाइँसाहेब पनि यही हुनुहुँदोरहेछ । यही भेट हुनुभयो- काकाबा, काकीआमा, साहिंली दिदी र साहिंला भिनाजुहरू पनि । उहाँहरूको पनि आफ्नै डफ्फा रहेछ । यस्तो परदेशमा आफ्नो परिवारका सदस्यहरू भेटिंदा एकप्रकारको न्यानो अनुभव हुँदोरहेछ; आनन्द लाग्दोरहेछ । हाम्रो समूहमा हामी निकटका सदस्यमा बा, आमा, बासपाने माहिली दिदी, माहिला भिनाजु र जानुका खनाल दिदी वृद्ध र रोगी हुनुहुन्थ्यो; माहिली दिदी र भिनाजुलाई भेटपछि हामी उहाँहरूको खानपान, बसोबास र रेखदेखका लागि निश्चिन्त भयौं ।

भोलिपल्ट बिहान हामीले प्रयागमा स्नान गरयौ । स्नान गर्नु भनेको सागरमा गएर डुबुल्की मार्नु थियो । सबै सागरमा गएर डुबुल्की मार्थे; हामीले पनि त्यसै गरयौ । यहाँ महिलाहरू शरीरमा भएका सबैजसो कपडासहितै सागरमा हेलिन्थ्ये र डुबुल्की लगाउँथें । यहाँ आएदेखि नै हामीले घाम देख्न पाएका थिएनौं । त्यसैले नुहाएका कपडाहरू घाममा सुकाउने कुनै सम्भावना थिएन । भिजेका कपडाहरू निचोरेर कतै फिँजाउन पाउन पनि अवसर पाउनु पर्दथ्यो । हामी डुबुल्की लगाएपछि किनारामा आएर कपडा फेथ्यौं र चिसै कपडा लगाउँथ्यौं । कतिपय मानिसहरू डुबुल्की लगाएकै कपडा लगाएर हिडिरहेका देखिन्थे ।

फर्किदा हामी बनारस र अयोध्या हुँदै फर्कियौं । बनारसमा बासपाने माहिली दिदी भुलिनु भयो । कमजोर, वृद्ध र घुमफिरमा उति अभ्यस्त नभएकी माइली दिदी भारतको व्यस्त शहरमा हराउँदा हामी सबैको अनुहारमा एकैपटक बादल लाग्यो । माहिली दिदी छुट्नु भएकोमा सबैभन्दा बढी चिन्तामा पर्नुभयो- हाम्रो बा । बाले समूहका सक्षम धेरै सदस्यहरूलाई विभिन्न दिशामा दौडाउनु भयो । माहिली दिदी कहाँसम्म हुनुहुन्थ्यो र कहाँबाट छुट्नु भयो भन्ने बारेमा तीर्थयात्रीहरूका बीचमा अनेकन् अनुमानहरू थिए । प्रयागको कुम्भमेलाले यस क्षेत्रका सबैजसो तीर्थहरूमा तीर्थयात्रीको भीडभाड बढेको थियो । यही भीडभाडमा अनेकन् आवाजसहित रिक्सा, साइकिल, मोटरसाइकिल र मोटरहरू दौडिन्थे । दिदीले हिन्दीमा बोलचाल गर्ने सम्भावनै थिएन । हामी आउँदा-आउँदै यस्तो घटना घटेकाले हाम्रो बसोबासको स्थान निश्चित भइसकेको पनि थिएन । यी सबै अवस्थाको छाप हाम्रो बाको अनुहारमा देखिन्थ्यो ।

भएछ के भने, साथीहरूबाट छुटेपछि माहिली दिदी हामी आएको बाटोभन्दा फरक बाटामा अलि अघि जानुभएछ । वरिपरि आफ्ना साथीहरू नदेखेपछि दिदी आत्तिनु भएछ र रुन थाल्नु भएछ । राम्रो के भएछ भने दिदी त्यही बसिरहनु भएछ; अन्यत्र भौतारिनु भएनछ । त्यसैले केही घन्टा खोजेपछि दिदी फेला पर्नुभयो । समूहका साथीहरू भेटेपछि दिदीले डाको छाड्नु भयो । हामी सबैले दिदीलाई सम्झाउने बुझाउने काम गरयौ । तर हामी सबैलाई दिदी भेटिनुहुन्छ भन्ने कुरा असम्भव जस्तै लागिसकेको थियो र उहाँलाई हामी बीचमा पाउनु अचम्मलाग्दो घटना जस्तै लाग्यो । दिदी भेटिएपछि सबैभन्दा खुसी हाम्रो बा हुनुभयो ।

हाम्रो बा (स्वर्गीय गोविन्द प्रसाद पोखरेल; वि. स. १९९३ माम्खा, ओखलढुङ्गा- २०७९ कटुञ्जे, भक्तपुर) सही दिशामा मानिसहरूलाई उत्प्रेरित गर्नुहुन्थ्यो र आफ्नो जिम्मेबारीलाई गहिरो गरी निर्वाह गर्नुहुन्थ्यो ।


ईश्वर पोखरेल
तीनपाटन, सिन्धुली
हाल : बोझेपोखरी, ललितपुर
[email protected]