संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवं साहित्यकार सूर्यप्रसाद लाकोजू हालै एक समारोह बिच सम्मानित भएका छन् । काभ्रे बनेपामा जन्मी काभ्रेको शिक्षा, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाएका संस्कृतिविद् ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित ज्ञानकाजी-मोहनलाल खिं स्मृति सेवा कोषले उनीहरूलाई सम्मान गरेको हो ।
अक्षयकोष स्थापनासँगै पहिलोपटक कोषबाट संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् लाकोजू सम्मानित भएका हुन् । सम्मानितमध्ये जोशीलाई ज्ञानकाजी- मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवं संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी- मोहनलाल खिं संस्कृति गौरव सम्मान प्रदान गरिएको थियो। दुवैलाई नगद १५ हजार रूपैयाँसहित सम्मान गरिएको थियो ।
सो सम्मान कार्यक्रममा प्रा. डा. पुरूषोत्तमलोचन श्रेष्ठले मानिसलाई चिरकालसम्म चिनाउने उसको कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर काभ्रे अध्ययनका लागि स्रोत व्यक्ति रहेको बताए । उनले इतिहास र संस्कृतिमा मानन्धरको योगदान प्रकाशित कृतिले प्रष्ट पारेको जनाए । प्रा. डा. श्रेष्ठले काभ्रेका ज्ञानकाजी मानन्धर, मोहन दुवाल, सूर्यप्रसाद लाकोजूका साथै इतिहासविद् हरिराम जोशी राष्ट्र रत्न रहेको चर्चा गरेका थिए । ज्ञानकाजी मानन्धरका छोरा प्रकाश मानन्धरले मानन्धरले शिक्षा, साहित्य, संस्कृतिको क्षेत्रमा र्पुयाएको सन्दर्भ अविरस्मरणीय रहेको उल्लेख गरे । उनले आफ्ना बाजे मोहनलाल खिँले कला, साहित्य, नाटक, मन्त्र आदिमा विशेष योगदान रहेको स्मरण गरे । उनले मानन्धरको सम्मान स्वरूप सन्तानद्वारा १० लाख रूपैयाँको अक्षयकोष स्थापना गरी शिक्षा, संस्कृति र इतिहास क्षेत्रमा हरेक वर्ष उपयुक्त पत्रहरूलाई सम्मान गर्दै जाने बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई परिवारले नै सम्मानस्वरूप कोष स्थापना गरेको बताए । उनले सो कोष स्थापनाले राज्यलाई नै मार्गनिर्देशन गरेको स्मरण गरेका थिए । उनले मानन्धरलाई ज्ञानकाजी सरको रूपमा चिनेको, समाजसेवी, शिक्षासेवी र संस्कृतिविद्को रूपमा परिचित गरेको जनाए । उनले सम्मानित व्यक्तिको योगदानबारे चर्चा गरेका थिए ।
सम्मानित संस्कृति शिरोमणि हरेराम जोशीले स्व. ज्ञानकाजी मानन्धरले र्पुयाएको योगदानसँगै उनको आनीबानी र संगतबारे स्मरण गरेका थिए भने सम्मानित संस्कृतिविद् लाकोजूले सांस्कृतिक निबन्धहरू लेखनको प्रेरक व्यक्ति स्व. मानन्धर रहेको बताए । कार्यक्रममा इमेज च्यानलका सञ्चालक रघुवर मानन्धरले स्व. संस्कृतिविद् मानन्धरको योगदानको स्मरण गरे । उनले स्व. मानन्धर काभ्रेको नक्षत्र रहेको चर्चा गरे ।
संस्कृतिविद् ज्ञानकाजी मानन्धरको २०८० भदौ ८ गते देहावसान भएको थियो । उनको वार्षिकीको अवसरमा परिवारका तर्फबाट स्मृति कोष स्थापना गरेको स्व. मानन्धरका छोरा भुवनकाजी मानन्धरले बताए ।