• २०८१ पौष २८ आइतबार

स्मृतिमा बालापन–३

गोविन्द सुवेदी

गोविन्द सुवेदी

मानव सभ्यताको विकास नदीहरूकै किनारमा भएको पाइन्छ, जसले गर्दा नदीलाई सभ्यताको जन्मदाता पनि भनिन्छ । नदीले जीवनको लागि अत्यावश्यक पानीको स्रोत प्रदान गर्छ । खेतीपाती, पशुपालन, र दैनिक जीवनको लागि पानीको आवश्यकता नदीले पुरा गरेको छ । पुराना सभ्यताहरू, जस्तै मिस्रको सभ्यता नील नदीको किनारमा, भारतीय सभ्यता सिन्धु र गंगा नदीको किनारमा, र मेसोपोटामिया सभ्यता टिगरिस र युफ्रेटस नदीको किनारमा विकसित भएका थिए । नदीले उपजाऊ माटो, यातायात, र व्यापारको सुविधा पनि दिएकोले ती क्षेत्रहरूमा बस्तीहरू बढ्दै गए । मानिसहरूले नदीलाई पवित्रता र धार्मिकतासँग पनि जोडेर हेर्ने गरेका छन् हिन्दू धर्ममा गंगा नदीलाई पवित्र मानिन्छ र त्यसको पानीलाई पूजा, स्नान र अन्य धार्मिक अनुष्ठानहरूमा प्रयोग गरिन्छ । यसले मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई झल्काउँछ । तर, नदीहरूको अत्यधिक उपयोग र प्रदूषणले मानिस र प्रकृतिबीचको यो सन्तुलनलाई बिगार्न थालेको छ । आधुनिक समयमा नदीहरूमा फोहोर, रसायन, र औद्योगिक फालाफालले गर्दा प्रदूषणको मात्रा बढ्दै गएको छ, जसले पानीको स्रोतलाई खतरा पुर्याएको छ । यसले वातावरणीय समस्या निम्त्याइरहेको छ र जीवनशैलीमा समेत नकारात्मक प्रभाव पारिरहेको छ । यसरी नदी र मानिसबीचको सम्बन्ध अत्यन्तै महत्वपूर्ण छ, तर यस सम्बन्धलाई सन्तुलित रूपमा जोगाउनु पनि उत्तिकै आवश्यक छ । नदीहरूको संरक्षण र उनीहरूको महत्वलाई बुझेर अघि बढ्दा मात्रै यो सम्बन्धलाई दीर्घकालीन रूपमा कायम राख्न सकिन्छ ।

बुबाले औषधि व्यवसाय गर्नुहुन्थ्यो घरमा “गणेश औषधि सदन” थियो । यो २०३६ सालदेखि नै सन्चालनमा थियो । औषधि लिन प्रायजसो बुबा नै जानुहुन्थ्यो । त्यो पनि डुंगामा (नाउमा) चढेर । नारायनघाटमा गुरुजीको औषधि पसल र अमृत थापाको औषधि पसल दुइटा मात्रै औषधिका होलसेलहरु थिए । त्यसैबाट औषधि ल्याउनु पथ्र्र्यो । एकपटक बुबासँग म पनि गएँ । बर्खायामको समय थियो । नाउमा चढेर हामी जाँदै थियौं । पानीको ठूलो भेल थियो छालहरू प्रशस्त देखिन्थे त्यसभन्दा अगाडि म कहिल्यै डुङ्गामा चढेको थिईन । डुङ्गामा (नाउमा) एउटा ट्रक अनि दायाँबायाँ प्रशस्त साइकलहरू त्यसपछि मानिसहरु करिब ४०/५० जना जति अटाउथे । त्यत्रो बढेमानको नाउँलाई चलाउने जम्मा छ जना चालकहरू थिए । चालकहरु स्थानीय बोटे समुदायबाट हुने गर्थे । हामी जसै नदीको बीचमा पुग्यौ छालले नाउँलाई तल माथि गराउन थाल्यो मलाई औधि डर लाग्यो सुरुसुरुमा त डर व्यक्त गर्न पनि सकिन तर पछाडि बुबालाई व्यक्त गरे । मलाई लाग्यो अब नाउँ लड्छ । पानीमा डुब्छ । हामी मरिन्छ । अत्यास लागेर आयो । यो सबै कुरा बुबालाई व्यक्त गरें जाडो समयको मौसम थियो बुबाले आफ्नो काँधमा गलबन्दी भिर्नुभएको थियो । एकछिनपछि उहाँले मलाई ढाडमा राखी आफ्नो गलबन्दीले कसेर बाँध्नुभो त्यसपछि मट्टी तेल ल्याउन राखिएका खाली ड्रमलाई समात्नुभयो । अनि मलाई भन्नुभयो मलाई कसेर समात । यो ड्रम पानीमा डुब्दैन हामी यसैलाई समातेर पारी पुग्नेछौँ । अब डराउन पर्दैन । तिमी नआत्तिय भनेर मलाई आश्वस्त र विश्वस्त तुल्याउनुभयो ।

बुबाको स्नेह र हिम्मतले कति ठूलो आश्वासन दिन सक्छ भन्ने कुरा यो घटनामा स्पष्ट छ । जब म पहिलोपटक डुङ्गामा चढें र पानीको भेलले डर उत्पन्न ग–र्यो, तब बुबाले न केवल मलाईं आत्मविश्वास दिनु भयो, बरु आफ्नो अनुभव र बन्धनले मलाई सुरक्षित महसुस गराउनुभयो । यस घटनाले मलाई बुबाको माया र हिम्मतको मूल्य बुझ्नमा मद्दत गरेको छ र यसले मलाई जीवनका अन्य चुनौतीहरूलाई सामना गर्न प्रेरित गरेको छ भन्ने लाग्छ ।

यो करिब २०४३÷४४ सालभन्दा अगाडिको कुरा हो । हामीले खानेपानीको स्रोत पनि नदीलाई नै मानेका थियौं । नारायणी नदीबाट विभिन्न प्रकारले पानी पानी बोक्नु जस्तै पानीले भरीएको गाग्री काँधमा, डोकोमा, साइकलमा आदिको माध्यमबाट घरमा र बुवाआमाहरुले त्यो पानीलाई छान्ने, फिटकिरीबाट संग्ल्याउने, थिग्र्याउने अनि ढुङ्गा, गिटी, बालुवाको माध्यमबाट पानीलाई स्वच्छ बनाउने आदि कार्यहरु गर्नुहुन्थ्यो । त्यही पानी हामीले विभिन्न कार्यहरुमा प्रयोग गर्दथ्यौं जस्तै पिउने, खाना पकाउने, सरसफाई गर्ने आदि काममा प्रयोग हुन्थ्यो । गाईवस्तुलाई त नदीमै पुर्याइन्थ्यो, कपडा धुन र नुहाउन पनि नदीमै गइन्थ्यो । यतिसम्म हुन्थ्यो कि कसैले घर बनाउन खोज्यो भने बैलगाडामा ड्रम राखेर पानी ओसार्ने काम गरिन्थ्यो । यसरी नदीसंग मानव जीवन पुर्णरुपमा निर्भर रहनुपर्दथ्यो । अझै एउटा कुरा मेरो बुवा चिकित्सक हुनुभएको हुनाले उहाँले आयुर्वेदको पनि ज्ञान राख्नुहुन्थ्यो र बोटे समुदायहरूले कहिलेकाहीँ सहरमाछा समातेका रहेछन् भने त्यसको ‘पित्त’ ल्याउन लगाउनुहुन्थ्यो र त्यसको सेबनबाट विषमज्वरो सन्चो हुन्छ भन्नुहुन्थ्यो र त्यसरी उपचार समेत नदीले दिन्थ्यो ।

यसले त्यससमयको ग्रामीण जीवनशैली र प्रकृतिप्रतिको निर्भरतालाई जीवित गरेर देखाउँछ । त्यसबेला पानीका लागि नारायणी नदी नै प्रमुख स्रोत थियो, र दैनिक जीवनका सबै कामहरू त्यसै पानीबाट गरिन्थ्यो । पानी शुद्ध पार्नका लागि परम्परागत तरिकाहरूको प्रयोग, जस्तै फिटकिरी र ढुङ्गा, गिटी, बालुवा प्रयोग गरेर पानीलाई सफा बनाउनु, त्यो समयको ज्ञान र साधनको सीमालाई झल्काउँछ । विषम ज्वरोको उपचारमा माछाको पित्तको प्रयोगजस्ता परम्परागत औषधीय उपायहरूले त्यो समयको सांस्कृतिक, प्राचीन चिकित्सा पद्धतिको महत्व र चिकित्सा ज्ञानलाई उजागर गरेको छ । त्यो समयको मानिस र प्रकृतिबीचको सजीव सम्बन्धलाई प्रस्ट पारेको छ, जहाँ नदी मात्र पानीको स्रोत थिएन, तर जीवनको महत्वपूर्ण अंश थियो ।

घरमा गाईवस्तु पालिन्थ्यो । ती गाईवस्तुलाई पानी खुवाउन नारायणी नदी लानुपथ्र्यो । बिदाको बेला हामी पनि कहिलेकाहीँ गाईवस्तुलाई लिएर नारायणी जान्थ्यौ । एकपटक भाइ दीपक र म त्यसरी नै नारायणी नदी गाईवस्तु लिएर गयौं । अनि गाईवस्तु पानी पिउने र आहाल खेल्ने गर्न थाले । हामी नारायणीको छेउछाउमा डुल्न थाल्यौं अनि अचानक हाम्रो आँखा त्यही यत्तिकै माछा मार्नको लागि राखिएको बल्छीमा पर्यो । मैले बल्छी टिपे अनि हामी जानी नजानी नदीमा बल्छी खेल्न थाल्यौ । बल्छी पानीमा छोड्ने र निकाल्ने क्रममा अचानक भाइको गालामा बल्छीले छेडियो । अनि के गर्ने हामी बिलखबन्दमा परयौं । त्यसपछि बल्छीको धागो त्यही फालेर भाईले एक हातले गाला छोप्दै र म डराउँदै घरमा गाईवस्तु लिएर आइपुग्यौं । अनि बल्छी कसरी निकाल्ने ? त्यसपछि घरमा भएका मेडिकल औजारहरू प्रयोग गर्दै मैले भाइको गालाबाट बल्छी निकाले बल्छीले करिब दुई चार महिना भाइको गालामा मोहोर जत्रो गोलो छाप छोड्यो । त्यो छाम्दा निकै सारो थियो । मलाई डर लागिराखेको थियो त्यो सधैं बस्ने हो कि भन्ने तर करिब तीन चार महिनापछि त्यो आफै हराएर गयो । यो स्मरण बाल्यकालको सम्झना, डर, र साहसको मिश्रण थियो । नारायणी नदी किनारमा गाईवस्तु लाने, माछा मार्ने बल्छीसँग खेल्ने र त्यसपछि भाइ दीपकलाई परेको घटना त कहालीलाग्दो तर यादगार पनि बन्यो । बल्छीले गालामा छेडिएपछि भएको डर, त्यही बल्छी निकाल्ने प्रयास, अनि भाइको गालामा लागेको छापले हामीहरूको त्यो समयलाई अझै बिर्सन नसक्ने गरी मनमा बसालिदिएको छ । यस्तो घटना, जसले हाम्रो बाल्यकालका यादहरूलाई बलियो बनाउँछन्, अनि पछि सोच्दा हाँसो पनि लाग्छ र केही दुःख पनि । समयसँगै त्यो छाप हराए पनि त्यो पल हाम्रो सम्झनामा सधैं रहनेछ ।

उतिबेला कपडा धुनको लागि डल्ले साबुन प्रयोग गरिन्थ्यो भने ठुलठुला कपडा धुनको लागि तामाको ताउलामा खरानीको प्रयोग गरेर कपडा पकाइन्थ्यो अनि त्यसलाई धोइन्थ्यो यसरी कपडाको सरसफाई गर्ने चलन रहेको थियो । हाम्रो घरमा पनि आमाले त्यसै गर्नुहुन्थ्यो । घर बाहिर आँगनमा अगेनो बनाएर दाउरा बालिन्थ्यो त्यसैमा ताउलो राखेर कपडा पकाइन्थ्यो अनि त्यो कपडालाई नारायणी नदीमा लगेर धोइन्थ्यो । त्यो क्रममा हामी अगेनाको वरिपरि हुन्थ्यौं, अनि कसैको हातमा आलु हुन्थ्यो कसैको हातमा पीडालु हुन्थ्या,े कोही पोलिरहेका हुन्थे कसैले उसिनी रहेका हुन्थे यसरी हामी कपडा पकाउने क्रममा पनि रमाइरहेका हुन्थ्यौंं । अनि कपडा धुने बेलामा पनि आमा सँगसँगै नदीमा जान्थ्यौ कपडा धुनको लागि सकेको सहयोग आमालाई गर्दथ्यौं अन्यथा हामी खेलिरहेका हुन्थ्यौ । नदीमा पौडी खेल्यो अनि आएर बालुवामा सुत्यो । फेरि नदीमा पौडी खल्यो अनि बालुवामा गौथली जस्तै घर बनायो । अनि त्यस्तै महल बनाउने सपना देख्यो । आमाले कपडा धोएर सिध्याउनुहुन्थ्यो अनि आमा कपडा बोकेर घर आउनुहुन्थ्यो भने हामी पानी बोकेर घरमा आउँथ्यौं । ठुलाले डोकोमा गाग्री राखेर बोक्ने सानाले टेमी अर्थात बाल्टिमा बोक्थ्यौं । नदी र मानिसको सम्बन्ध पुरातन कालदेखि नै गहिरो र महत्वपूर्ण रहेको छ ।

नदी मात्र, पानीको स्रोत नभएर एकजना साक्षी हो, जसले जीवनका अनगिन्ती अनुभवहरूलाई महसुस गरेको छ । नदीको किनारमा र नदीमा पौडी खेल्दा हामीहरूले अनुभव गरेको स्वतन्त्रता र रमाइलो त्यही नदीले दिएको हो, जसले हाम्रोे जीवनलाई प्रकृतिसँग नजिक बनायो । त्यस समयको तातोपन, बालुवामा सुतेर गर्मी महसुस गर्ने र महल बनाउने सपना देख्ने अनुभवहरू जीवनका अमूल्य पलहरू हुन् । नदीले केवल जलको मात्र प्रदान गर्दैन, यो जीवनको सम्पूर्ण प्रवाहको एक हिस्सा हो । नदीसँगको यो गहिरो सम्बन्धले हामीलाई प्रकृतिसँग, हाम्रो समुदायसँग र हाम्रा आफ्ना स्मृतिहरूसँग नजिक बनाउँछ । जीवनको विविधता र त्यस समयमा मानिसहरू कसरी प्रकृतिसँग निकट थिए भन्ने कुरा स्पष्ट छ । नदीले मात्र दैनिक जीवनका लागि पानी प्रदान नगरेर, सामाजिक, सांस्कृतिक, र आर्थिक क्रियाकलापहरूमा समेत महत्वपूर्ण भूमिका खेल्ने गरेकोे देखिन्छ ।


गोविन्द सुवेदी