• २०८१ श्रावाण ११ शुक्रबार

तिमी नै प्रिय

इश्वर कणेल

इश्वर कणेल

माया गर्छु भन्नेहरू भन्दा
कहिल्यै माया गर्दिन भन्ने
तिमी नै प्रिय छ्यौ मलाई ।

माया गर्छु भन्नेहरू त भनिरहन्छन्
ऋतुहरू जस्तै हुन्छ तिनीहरूको माया
र हरेक भेट पछि छाडेका हुन्छन् असरहरू
जसरि छोड्छ मौषमले फलामे औजारहरूमा
उस्तै हुन्छन् मन, मुटु र मस्तिष्क
बढ्दै जान्छ कार्य असमर्थता
र फैलन्छ धोकाको ठुस ठुस गन्हाउने गन्ध
किनकि मौसमी माया
लामखुट्टे झैं बारबार आउँछन्
सताउँछन्
बिथोल्छन्
अनि सुटुक्क जान्छन् ।

तिम्रो माया
शीतल बतासको स्पर्श भएर आउँछ
जुनको उज्यालो बनेर आउँछ
शरीर भर सुम्सुम्याउँछ
र पनि तिमी भनिरहन्छ्यौ, “म तिमिलाई माया गर्दिन।”

माया कुनै कार्य होईन
यो त केबल महसुस हो
सँगै भएर बाच्नेहरूको समय भन्दा
कैयौं गुणा महसुस हुन्छ जिन्दगी
जो हजारौंँ माईल पर भएर पनि
अनुभव गरिरहन्छ माया
किनकि,
माया व्यक्तमा नभई
अव्यक्तमा हुर्कन्छ र फैलन्छ
मलाई तिम्रो अव्यक्त मायाको एक तीब्र नशामा
होसपूर्ण सम्भोग पछि
हजार बर्ष निदाउनु छ ।


इश्वर कणेल
[email protected]