• २०८१ माघ २७ आइतबार

भानु आकाशमा एक झरी आँसु

  लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

मनको आकाशमा सजाउने
एउटा मीठो मुहार छ तिम्रो भानु !
यी उत्फुल्ल पर्वतमाला
घाँसी कुवामाथी
एकान्त बसेर
म तिमीलाई
सुसेली हालेर बोलाउँछु
बनघारीको सुवासमा
चराहररूको चिरबिरमा
चुदी रम्घाको बाटोभरी
छरिएका तिम्रा गोधुली गीतहररू
मलाई पेटभरी गाउँन मन छ !
साच्चै मैले प्रेम गरेको
तिमी जन्मेको त्यो माटो !

तिम्रो अनमोल बिम्ब
मेरा सम्झनाका झरिहररूमा आइरहेछन्
त्यही सम्झनामा
बगिरहेछ यतिबेला
तिम्रो भाषाको इन्द्रावती !
सबैभन्दा ठुलो कुरा
हृदयको गुन्जन
भाषाको इन्द्र्धनु मिसिएको छ त्यो मृतिकामा
पुकारा अनुगुन्जित भैरहन्छ प्रत्येक प्रहरमा
श्वास प्रश्वास मिलेको छ तिम्रो रामायणमा
आस्था अनि अनुराग मिलेको छ तिम्रो सिर्जनामा

जीवनका गीतहरू
कति तिमीले सुसायौ
कति मैले सुसाएं
कति हामीले सुसायौं
क्षितिजमा मिलिरहेको
यो आकाशगङ्गा अझै यहीं त छ
कहिले नबिर्सिने
कहिले नछोपिने
कहिले ननिभ्ने
तिमी त त्यो घाम हौ
जो नेपालीको आगनीमा
कहिले पनि अस्ताउंदैनौ

तिम्रो अमरावती
कान्तिपुरी नगरीमा
आजकल त
गीत कविता सस्वर श्लोक होइन
केवल राजनीतिको कुहिपाक
फतफती किरा परेर झरिरहन्छ
असी बर्षका बुढा रोगीहररूले
चलाउने देश
खै कस्तो होला अनुमान गर त भानु ?
तिमी हुँदाको देश
अनि तिमी नहुदाको देश ?
त्यो चपल
त्यो धवल सुशितल
शान्त बन कुहुकुहु
घाँसी कुवा
तिमी हिडेको मैदानमा
जान मन छ
र गाउन मन छ
तिम्रो आदि ग्रन्थ रामायण
तिमी आदि होइनौ
अनादी हौ
तिम्ले जन्माएका एक नारद
आज हजारौंमा परिवर्तन भए
र तिन्ले लोकको हित होईन
आफ्नो र आफ्नाको मात्रै हित गरे !


लक्ष्मण सिटौला