• २०८२ आश्विन ८, बुधबार

नियात्रासङ्ग्रह ‘मत्स्यकन्याको मुलुकमा’ को परिचर्चा सम्पन्न

ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले साहित्यकार रण काफ्लेको ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासङ्ग्रहको परिचर्चा गरेर आफ्नो नियमित शृङ्खला २०औं मनाएको छ । प्रमुख अतिथि विश्वकवि तुलसी दिवसले रण काफ्लेले गौरवशाली नेपाली महिलालाई चिनेको उल्लेख गर्दै अरू पनि थुप्रै नेपाली छन् जसलाई हामीले चिन्नुपर्ने कुरा बताए र उनले आगामी दिनमा यो काम हुने कुरामा आफू विश्वस्त रहेको बताए । आफू स्वयं पनि ‘मत्स्यकन्याको मुलुकमा‘ की नायिकाको सामजिक क्रियाशीलता थाहा पाएर अत्यन्तै प्रभावित भएको बताए । शिखर कवि शैलेन्द्र साकारले कृति आकर्षक, पठनीय र स्तरीय भएकाले लेखक र नायिका चिनीमाया दुवैलाई धन्यवाद दिए ।

नेपाली जनजाति क्षेत्रकी पौरखी अगुवा तथा नेपाल माझी उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीको जीवनमा आधारित आख्यानात्मक शैलीमा लेखिएको ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासङ्ग्रहमाथि परिचर्चाकार प्राडा भरतकुमार भट्टराईले भारतको आसाममा बसेर नेपाली साहित्यको सेवा गर्ने रण काफ्लेले लेखेको ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासंग्रह नेपाली साहित्यका लागि राम्रो उपलब्धि भएको बताए ।

भट्टराईले निम्न वर्गीय परिवारमा जन्मिएर बाख्रापाठा चराउँदै हुर्किएकी चिनीमाया माझीले जीवनमा गरेका संघर्ष र प्रभावशाली कामलाई उजागर गरेर काफ्लेले सिङ्गै नेपाली समाज र नेपाली साहित्यमाथि गुण लगाएको बताए । त्यस्तै अर्का परिचर्चाकार पूर्व प्राज्ञ नन्दु उप्रेतीले बर्मा एवं भारतको मणिपुर, आसाम जस्ता ठाउँमा बसेर नेपालीभाषी साहित्यकारहरूले नेपाली भाषा र साहित्यका लागि गरेको योगदानको उच्च कदर गर्दै काफ्लेप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए । उनले नेपाली चेली चिनीमाया माझीको जीवनीलाई विषयवस्तु बनाएर रण काफ्लेले नेपाली साहित्यलाई एउटा सुन्दर साहित्यिक कृति उपहार दिएको बताए ।

प्राज्ञ उप्रेतीले कृतिले पाठकसँग जहिले पनि आफ्ना अक्षरहरूमार्फत आँसु, खुसी, आक्रोश, पीडासँगै चेतनाको अनुभूति र आनन्दको अनुभूति माग्छ भन्दै यी कुरा काफ्लेको कृति स्तरीय भएकाले पढ्दा पाठकलाई झिजो नलाग्ने भएकाले यही नै लेखक र कृति दुवैको सफलता भएको बताए । कृतिले नेपाली भूगोलको परिचय दिएको छ, माझी जातीको सिङ्गो संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज, जीवनशैली सम्पूर्ण कुराको उत्खनन गरेको छ। यसले संघर्षशील एवं गौरवशाली इतिहास बनाइसकेका अरू नेपाली जीवनलाई कृतिमा रूपान्तरण गर्ने प्रेरणा प्रदान गर्छ’ उप्रेतीले भने । कृतिकी नायिका चिनीमाया माझीले आफूलाई साहित्यिक कृतिमा समेटिदिएकोमा साहित्यकार काफ्लेप्रति आभारी हुँदै ज्योति साहित्य प्रतिष्ठान काठमाडौं विनेसाम ललितपुर जिल्ला शाखा र उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् ।

शिखर कवि शैलेन्द्र साकारले कृति पढ्न मन लाग्ने भएकाले लेखक र नायिका चिनीमाया दुवैलाई धन्यवाद दिए। विश्व नेपाली साहित्य महासङ्गका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्ले (ताइवान) र विश्व नेपाली साहित्य महासङ्घकी केन्द्रीय महासचिव सुनिता राई कङ्दङ्वा (इजरायल), विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाकी अध्यक्ष नीता श्रेष्ठ नित्यनूरले पनि शुभकामना मन्तव्य दिएका दिए । कार्यक्रममा कृतिका लेखक रण काफ्लेले भारत, आसामबाट पठाएको आभारपत्र वाचन गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष वरिष्ठ कवि मणिराज सिंहले आसामका स्रष्टा काफ्लेको लेखनी प्रभावकारी छ भन्ने कुराको प्रमाण हालै उनको ‘रैथाने’ उपन्यासले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट कृति पुरस्कार प्राप्त गरेकोबाट प्रमाणित भैसकेको छ। ‘मत्स्यकन्याको मुलुकमा ले फेरि उनको लेखनी प्रभावकारी छ भन्ने सावित भएको छ। यो कृति नेपाल माझी उत्थान केन्द्रकी केन्द्रीय अध्यक्ष चिनीमाया माझीको जीवनवृत्तमा आधारित भएको बताए ।

उनले भने, ‘मैले लेखक काफ्ले र नायिका चिनिमाया दुवैलाई चिन्छु र ज्योति साहित्य प्रतिष्ठानले दुवैलाई उहाँहरूको योगदानको सम्मान गर्दै सम्मान गरिसकेका छौं । रण काफ्लेजीलाई ७ वर्षअघि यहीं काठमाडौंमा डाकेर र चिनीमायाजीलाई ६ र ७ महिना अघि मात्र । यसो सम्झदा ज्योति प्रतिष्ठानले प्रतिभाशाली व्यक्तित्वलाई चिन्न सक्दो रहेछ भन्ने विश्वास जागेको छ। दुवै व्यक्तित्वप्रति हामी आज फेरि गर्विलो हुन मन लागेको छ। दुवैलाई हाम्रो बधाई ।’

साहित्यकार ममता मृदुलले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकारहरू विमल भौकाजी, निरुपा प्रसुन, प्रमोद सारङ, प्रधुम्न जोशी, गोकुल अधिकारी, त्रिपुरा पौडेल, नेपाली सरोकारकी प्रकाशक तथा प्रधानसम्पादक रमा वली, विनेसाम वाग्मती प्रदेश अध्यक्ष तोयानाथ सुवेदी, महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेल, अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली, चन्द्रमणि प्रसाई, सृजना सरोवर, विक्रमभक्त जोशी, डा. शेखरकुमार श्रेष्ठ, नोबेल साकोसका राजन न्यौपाने, अम्बिका खड्का, ईश्वर पोखरेल, कवि वन्दना गौतम (म्यानमार), राधिका गुरागाई, महाकाव्यकार तथा ज्योतिषी रामनाथ अधिकारी, रोमा लम्सल, सरस्वती श्रेष्ठ, सुनिता अधिकारी, जुनु घिमिरे, नानीबाबु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।