• २०८१ माघ १ मङ्गलबार

स्मृतिमा बालापन

गोविन्द सुवेदी

गोविन्द सुवेदी

आफ्नो बालापन मन नपर्ने को होला र । मलाई थाहा छ, प्रायः सबै जसोलाई आफ्नो हाँसीखुशीको रमाइलो बालापन मनपर्छ । आज म बयस्क जीवन जिइरहेको समयमा किन किन मलाई आफ्नो बालापनको याद ताजा भएर आइरहेको छ । मैले खेलेका ती आँगन, साथै संगैं खेलेका दौँतरी अनि धुले भुइँमा कखरा पढेको कसरी बिर्सन सकिन्छ ? समय नै भोक न भकारी, शोक न सुर्ताको बेला, मन परेको चिज चाहियो बा-आमासँग रोइदिए भैहाल्यो । भोकलाग्यो, आमा । चोट लाग्यो, आमा । कसैसँग झगडा भो, आमा । केही चाहियो, आमा । खेल्न जान परयो, आमा । नयाँ कुरा किन्न परर्यो या केही ठूलै कुरा चाहियो, बुबालाई भनसुन गर्न पनि आमा । या भनौँ, बालापनमा सबै कुराको दबाई नै आमा हुन् । कोही कसैको कुरा भन्न परेमा बुबासँग भन्न डर लाग्थ्यो तर आमा सुन्नु हुन्थ्यो । सकभर समाधान गर्नु हुन्थ्यो या त बुबालाई भन्छु भन्नु हुन्थ्यो ।

बाग्लुङ्ग जिल्लाको तत्कालीन सर्कुवा गा.वि.स. थन्थाप वडा नं. ७ एकरातेमा मेरो जन्म भयो । बुबा चिकित्सक् हुनु भएको र पण्डित खलक भएका कारणले हाम्रो शिक्षा, दीक्षा र अभावको त्यति अनुभव गर्न परेन । त्यसका लागि म मेरो परिवारप्रति धेरै अनुग्रहित छु । हाम्रो हजुरबुबा पण्डित युक्तिबल्लभ उपाध्याय र हजुरआमाहरु भद्रशिला उपाध्याय तथा रञ्जताका तिन छोरा र छ छोरी । हाम्रो कान्छि फुपू कलाबतिको विवाह भएको केहि बर्षपछि श्वर्गवास हुनुभो भने साईलि फुपु तेजावति सानैमा बिधवा हुनुभो । अन्य चार वटै फुपुहरुको उतै बाग्लुङ्गको सेरोफेरोमा बिबाह भयो । हजुरबाले त्यतिबेला घरमा नै पाठशाला खोल्नुभएको थियो। आफ्ना छोराहरू लगायत गाउँका अन्य केटाकेटीहरूको लागि वेद, चण्डी, गीता आदि पठन पाठनको लागि मेसो मिलाउनु भएको थियो। हाम्रा तिन वटै बुबाहरुको उतै बाग्लुङ्ग जिल्लाको थन्थाप सर्कुवा, एकरातेमा नै बसोबास रह्यो । एकरातेमा तल्लो एकराते, उपल्लो एकराते प्रचलित थियो त्यसबेला । हाम्रो घर तल्लो एकरातेको बीचमा थियो । सबै घर लगभग भिन्दा भिन्दै थिए । हाम्रो घरको दाहिनेपट्टि अलिक पर थियो कान्छा बुबाको घर । अनि कान्छा बुबाको देब्रेपट्टि अलिक पर ठुला बुबाको घर थियो । भनौँ, हाम्रो सबैजसो परिवारको घर एउटै टोलमा थियो ।

म हुर्कँदै गर्दा घरमा, परिवारमा तथा समाजमा महिलाहरूको स्थान पुरुषसरह थिएन । हजुरबा र हजुरआमाको स्थिति बराबर थिएन । बुवाको र आमाको स्थान बराबर थिएन । सम्मान बराबर थिएन । मैले यो कुरा हजुरआमा वा हजुरबालाई सोधेको थिएँ । उहाँहरूले भन्नु भएको थियो- आइमाईले बिहे नहुञ्जेल बाउका अधीन, बिहे भएपछि लोग्नेका अधीन, विधवा भएपछि छोराको अधीनमा बस्नुपर्छ । समाज त्यस्तो थियो । आँगन हाम्रो खेतको गरा तर खेल मैदान जस्तै ठुलो थियो । बल खेल्ने, एक खुट्टे खेल्ने, कक फाइट खेल्ने, रेखा कोरेर कोठा कोठा पारेर खेल्ने खेल हामी खेल्ने गथ्र्यौँ । मान्छे आवत जावत गर्नेहरु घरका पेटीपेटीमा हिँड्थे । सलाई तथा खैनीको बट्टामा धागो राखेर फोन बनाउँथ्यौँ । आँगनमा अंगुरको झाल थियो कालो अंगुर ।

म चार बर्षको हुँदा हामी सेरामा बसोबास सर्यौं । बुबाले चिकित्सकिय कामको ब्यबसायिक सुरुवात गर्न सेरा बस्दा पाएक पर्ने भएकाले होला हामी सबै बसाई सर्यौं । २०२८ साल जेष्ठ महिनाको १२ गते बुधवार मेरो जन्म भएको रहेछ । हजुरबुबाले कम्भुगिर्वा अर्थात सेतो शंख भनि नामाकरण गनुभएको रहेछ । यो राख्ने नाम अनि बोलाउने नाम धुर्व र अहिलेको औपचारिक नाम गोबिन्द यतै गैंडाकोट आए पछि बुबाले जुराई दिनु भएको । आमा भन्नुहुन्छ हामी सानामा चुलवुले थियौं रे । सेराको तल्लो फाँटमा रहेको शान्ति प्रा.वि. हालको शान्ति उच्च मा.वि. मा हामी अध्ययन गर्दथ्यौं । मलाई थप अध्यनका लागी बुबाले “नुका आचार्य” मिस लाई अनुरोध गर्नु भएको रहेछ हामी चार जना म, हरी भान्दाई, धुर्व आचार्य अर्को एक जना नाम बिर्सें गरी चौपारीमा पढ्दथ्यौं । चौपारीमा रहेको ढुँगामा धुलो छर्ने अनि औंला तथा छेस्काको सहायताले लेख्ने गर्दथ्यौं । कपि पनि आईसकेको थियो त्यसमा पनि लेख्ने पढ्ने गरिन्थ्यो । अझ देउराली चुरोटको बट्टाको खोलको कागजलाई सम्याई त्यसैमा पनि लेख्ने गरिन्थ्यो ।

शान्ति प्रा.वि. ठेउले खोलाको छेउमा तल्लो सेरामा रहेको थियो । हामी शुक्रवार बिदापछि खोलामा पौडि खेल्न जान्थ्यौं । प्राय म अरुले पौडि खेलेको हेरेर बस्थें तर एक पटक साथिको लहलहैमा ठेउले खोलामा पौडिखेल्न हामफाल्याौं । नजान्ने मान्छे ठाडो खोलामा होमिएपछि के हुन्छ ? त्यहि भयो । पानी खाईएछ माथिल्लो कक्षाका दाईहरुले निकालेछन् । एकछिन खोलाको छेउमा बसेपछि निको भयो । विद्यालयकै छेउमा रहेको औंसेलु, चुत्रो, काफल, खन्नेउ, कांक्रो आदि फलफुल खाईन्थ्यो । खेलमा बल खेल्ने, एक खुट्टे खेल्ने, कक फाइट खेल्ने, रेखा कोरेर कोठा कोठा पारेर खेल्ने, सलाई तथा खैनीको बट्टामा धागो राखेर आवा बनाउँदैे खेल हामी खेल्ने गथ्र्यौँ ।

बालापनमा साथीहरुले गरेका उटपट्याङ सेरा बजारमा छँदै हो । बालसखा राम, हरि तथा प्रेम दाई मिलेर आँगनमा किला उल्टो पारी गाडेछन् अनि त्यही किल्लामा मलाई टेकाउने कुराकानी भएछ । त्यसपछि मलाई लिन बजारको छेउमा रहेको हाम्रो घरमा आए । अनि एकातिरबाट हरि अर्काेतिरबाट रामले अँगालो हालेर मलाई जाम खेल्न भन्न थाले । म पनि फुरुङ्ग आज साथीहरुले मलाई धेरै माया गरिराछन् भन्ने लाग्यो । खुरुखुरु जता लान्छन् उतै हिँडे प्रेमदाई लजालु स्वभावको मुसुमुसु हाँसिराख्नु भएको थियो । अनि राम र हरि भने घर अगाडि काटी गाडेका ठाउँमा पु¥याए । म भुइँमा हेर्दै हिँडिरहेको रहेछु उनीहरु मलाई माथि तिर हेर्न भन्दै थिए । मैले काँटी देखिहाले । उनीहरू मलाई काँटीमा टेकाउन उद्यत थिए र यतिकैमा मैले चाल पाएर दौडिए । अनि सबैको हाँसो फु¥यो ।

हरि अहिले पोखरामा छन् व्यवसाय चलाइरहेछन् । राम डाक्टर भए अमेरिका छन् । प्रेम दाजु वैकल्पिक ऊर्जामा कार्यरत काठमाडौँ हुनुहुन्छ ।राम र हरिको बुवा लक्ष्मी र रत्न दाजु भाइ हुनुहुन्थ्यो । उहाँहरुको घोडा थियो कहिलेकाहीँ घोडचढी पनि गरिन्थ्यो र लक्ष्मी बुवाले त्यतिबेला सेरा बजारमा साना जलविद्युत आयोजना सञ्चालन गर्नुभएको थियो । बिजुली बत्तीमा पढ्न पाइन्थ्यो बेलुका । त्यसैगरी आधुनिक मिल, पानी घट्ट आदि सञ्चालनमा थिए । बजारको बिचोबीच समीको ठूलो रूख थियो । त्यो रुखमा लुकामारी देखि पिङ् सम्म खेलिन्थ्यो भने अन्य खेल एक खुट्टे, डन्डीबियो, गट्टा, आदि पनि सो रुखको छाहरीमा खेल्ने गरिन्थ्यो । हामी केही समय पछि सेरामा व्यवसाय मात्र र बासोबास झब्रिखेत टारमा गर्न थालियो । टारमा खेती बारी पनि हुन्थ्यो । खेत अलि तल थियो कुलो लाग्ने । लहलह धान र सिजनमा गहुँ झनै राम्रो हुन्थ्यो । धान र गहुँको पुतला बनाउने चलन थियो । राम्रा राम्रा ठूला ठूला पुतला बनाएर बार्दलीमा सजाउने तथा तोरनमा सजाएर “जिमीरेघाट”मा तोरण तार्ने चलन थियो । हामी भने तिनै गहुँ तथा घाँसको मदानी जस्तो बनाएर पानी घट्ट बनाई खेल्थ्यौ र कुलाको पानीमा त्यो पानी घट्टलाई घुमाएर रमाइलो मान्थ्यौ । त्यसो खेल्ने सुशिला दिदी, सिता दिदी, हरि भान्दाई र म थियौ ।

एक पटक धान रोप्न आमा दिदी सबै जानु भयो । बुवा सेरा आफ्नै पेसामा । घरमा हामी तिनजना रह्यौ म, बहिनी विमला र भाइ दिपक । भाइ बैनी सुतेका थिए र मलाई हेरालु राखी जानु भएको थियो आमा । आमाहरु आउन अबेला भयो । भाई रुन थाल्यो । अनि भाईलाई मैले बोकें, एक छिन पछि बहिनी पनि रुन थालिन उनलाई डो¥याएँ । अनि घर अगाडिको कान्लामा गई बाटो हेर्न थाल्यौ । धेरै बेर सम्म पनि नआए पछि थाकेर भाइ बैनी रुन छोडे । अनि निउरो टिप्न थाले । उनीहरुलाई सेरा सँगै लिई । निउरो टिप्दै जाँदा हरियो साँप पनि समातिएछ । साँपले कस्सो टोकेन, भाग्यो हामी पनि तर्साै । अनि तिनै जना रुन थाल्यौं । केही बेर पछि आमा, दिदी आउनु भयो र मात्र मन थामियो । सर्कुवा, सेरा र झब्रिखेत टार को बसाई पछि पुनः नवलपरासी जिल्लाको गैंडाकोटमा २०३६ सालमा बसाई सरियो ।

गैंडाकोट आउँदा म आठ बर्षको थिएँ बालापन त हुने नै भो । गैंडाकोटमा गोविन्द, टिकाराम, नारायण, शालिकराम, विष्णु, गोविन्द सापकोटा, विन्दु, डोलराल, रमेश आदि बाल सखा भए । विद्यालय फेरियो जनक मा.वि.मा पढ्ने भइयो । खेलका स्वरुप केही फेरिए उता पहाड, यता तराई । भाले जुधाइ(घुंडा र कुम ठोक्याउने खेल), चुङ्गी, डण्डीवियो, फुटबल आदी आदी ।
यता आए पछिको चाडवाड रमाइलो लाग्न थालेको थियो । हाम्रा तिनै भाई बुवाहरु अनि हजुरबुवा, हजुरआमा पनि बसाई सरी यतै आउनु भएको थियो । दशैंमा टिका लगाउन हजुरबुवाको घरमा जम्मा हुन्थ्यौं सबै जना । पिङ्ग खेलिन्थ्यो मच्चि मच्चि। दशैँको दिन टीका लाइसकेपछि भुइँमा खुट्टा छोड्नुपर्छ भन्ने परम्पराअनुसार दशैंदेखि तिहारसम्म नै पिङ्गको अगाडि भीड नै हुने गर्दथ्यो । घर घरमा जमरा राखिन्थ्यो । नवरात्री शुरु भएपछि बुबाले बिहान चार बजे नै उठाउनु हुन्थ्यो । लाईट बालेर हिँडेर नारायणीमा नुहाउन गइन्थ्यो । घरमै दुर्गा कवच पाठ गरिन्थ्यो । नवमीको दिन मार हानिन्थ्यो कुभिन्डोको । दशैंमा हजुरबुवा हजुरआमाले सबैलाई टिका लगाइदिनु हुन्थ्यो भने हामी साना फुच्चा फुच्चिलाई बडा सबैले टिका लगाइदिनु हुन्थ्यो । नमजा त त्यतिबेला हुन्थ्यो जति बेला सबै दिदी बहिनीले दक्षिणा पाउँथे हामी छोरा पाटीले पाउँदैनथ्यौं । त्यै पनि बुवाले ल दशैंमा मिठाई खाएस भन्दै केही रुपैया २, ५ आदी दिनुहुन्थ्यो । ५ रुपैया त हाम्रा लागि ठूलो हुन्थ्यो । अनि सेल रोटी खाईन्थ्यो । टिका लाइसकेपछि फोटोग्राफर हाम्रो कान्छा बुबा (भिम प्रसाद शर्मा) को सामु फोटो खिच्न फेरि लाइन बसिन्थ्यो । खुब रमाइलो हुन्थ्यो ।

फागू पूर्णिमाको बेला रङ छ्याप्ने बाँसको पिचकारी बनाइन्थ्यो । परपरसम्म जाने पिच्कारीमा रङ भरेर घरभित्र लुकेर बाटोमा हिँड्नेलाई रङ छ्यापिन्थ्यो । कोहीकोही त रिसाउँथे र झगडा नै गर्न आउँथे । तर हामी भागेर लुकेर बच्ने गथ्र्यौँ । खाली चौर तथा खेत खेतमा गएर चङ्गा उडाइन्थ्यो । कसको पर जान्छ, कसले अर्कोलाई चेट गर्यो, त्यसमा रमाइलो मानिन्थ्यो र त्यसले माने राख्दथ्यो । मेरा हजुरवुवा पण्डित । बाग्लुङ्ग हुँदा पुराण आदि भन्नुहुन्थ्यो । उहाँ बृद्ध पनि भैसक्नु भएको थियो । हजुरबुवालाई विहान ६ः००बजे नुहाउन नारायणी नदी सधंै जानु पर्ने । अनि हामी कहाँ हुँदा मैल लैजाने गर्थे । बुवाको निर्देशन जो थियो । पुष, माघको जाडोमा पनि नारायणी नुहाउनु पर्ने । एकदिन पुष महिना तिर हुनु पर्दछ मैले हजुरवुवालाई लिएर नारायणी नदी पुगे । हजुरबुवा कपडा खोलेर नुहाउन तयार हुनु भयो मलाई पनि नुहाउन कर गर्नु भयो । अनि मैले पनि नुहाउने भए । जुनेली रात थियो । जसै नदिमा हजुरबुवा नाती हात समातेर पसेका थियौ पानीमा साँप प्रसस्त उफ्रिरहेको देखें । अनि हजुरवुवालाई सतर्क गराएँ । हजुरबुवा साँप नजानुस् तेता नदिमा भने तर उहाँ मान्नु भएन । माछा हुन् भन्दै जानु भो । मलाई औधी डर लाग्यो तिनी साच्चिकै माछा रहेछन् । चिसोले उफ्रिएका तर मलाई पछि सम्म सर्प नै हुन भन्ने लाग्थ्यो । हाम्रो हजुरबुवालाई ति साँपहरुले नटोकेका धर्मात्मि भएर भन्ने लागि रह्यो ।


गोविन्द सुवेदी
गैंडाकोट–२, नवलपरासी