• २०८१ मंसिर १७ सोमबार

दिव्य गिरीका चार मुक्तक

दिव्य गिरी

दिव्य गिरी

भ्रष्टाचारलाई मूलमन्त्रको सिरानी बनायौ
देशको स्वाभिमान बेचेर खरानी बनायौ
वीरका सन्तानलाई अरबमा जान बाध्य पार्यौ
सक्कली नेपालीलाई नक्कली भुटानी बनायौ ।

यो खेलमा तिम्रो जीत हुँदैन, सकुनिहरू छन्
यो देशमा तिम्रो भलो हुँदैन, खुनीहरू छन्
शीर काटेर देऊ, छालै काढेर देऊस देख्दैनन्
यहाँ गुण देख्ने कोही हुँदैनन्, बैगुणीहरू छन् ।

यहाँ पनि भ्रष्ट छन्, त्यहाँ पनि भ्रष्ट छन्
हेर्दै गयो देखिन्छन्, जहाँ पनि भ्रष्ट छन्
तिनै चाण्डाल भ्रष्टहरूले घेरिएर बस्नुछ
बायाँ पनि भ्रष्ट छन्, दायाँ पनि भ्रष्ट छन् ।

सत्ताको स्वादमा पल्केर दल पनि अकासियो
हाईब्रिडको जमानामा सानो फल पनि अकासियो
हिजोआज अकासिने क्रम अझै बढ्दो छ हेर
अवसरवादी भएपछि छल पनि अकासियो ।


दिव्य गिरी