• २०८२ श्रावाण ५ आइतबार

दुइ सय एघारौँ भानु जयन्ती उल्लासका साथ मनाइयो

काठमाडौं ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजनामा भानु जयन्ती भव्यताका साथ सम्पन्न गरिएको छ । उक्त भानु जयन्ती विशेष कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे हुनुहुन्थ्यो । कार्यक्रमा भानुको प्रतिमामा माल्यार्पण, प्रभातफेरी, श्रद्धाञ्जली अर्पण, स्रष्टा सम्मान तथा उनको योगदानको चर्चा गरेर मनाइयो । प्रज्ञा प्रतिष्ठानबाट प्रभातफेरि सहित शोभायात्रा गरेर पुन प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमै फर्केपछि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । भाषा साहित्यका वरिष्ठ साधक द्वय प्रा.डा. नोवल किशोर राई र माया ठकुरीलाई रथारोहणसहित सम्मान गरियो भने शोभायात्रा तथा प्रभातफेरीमा उत्कृष्ट भएका विद्यालयहरू पुरस्कृत भए । कार्यक्रममा भानुभक्तका रचनाहरू वाचन गरिएका थिए ।भानु प्रतिष्ठानले यसै वर्षदेखि प्रदेश संरचना तयार गरी प्रदेशस्तरमै भानु जयन्ती विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सातै प्रदेशमा विशेष कार्यक्रमहरू सम्पन्न भएका छन् । सुदूर पश्चिम प्रदेशको धनगढीस्थित चैतन्य पाठशालाले आकर्षक नगद पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गर्यो । नेपाली सञ्चार माध्यमले हिँजो बिहानैदेखि भानु जयन्ती सम्बन्धी समाचारहरू प्रकाशन र प्रसारण गरेका थिए । भाषाकै माध्यमबाट प्रकाशित र प्रसारित हुने सञ्चार माध्यमले आदिकविप्रति दर्शाएको यो प्रेम र हार्दिकता उच्च छ । देशभित्र र बाहिर रहेका अनेकौँ साहित्यिक सङ्घ संस्थाले आआफ्नो ठाउँमा आआफ्नै शैलीमा भानु जयन्ती मनाएका छन् ।

फरेष्ट्री कलेजको आयोजना एबं वन तथा वातावरण साहित्यिक समुह र चन्द्रागिरि साहित्य प्रतिष्ठानको सहकार्यमा असार २८ गते २११ औं भानु जयन्ती विशेष काव्य गोष्ठी सम्पन्न भयो । झमक कार्कीको अध्यक्षता एबं रोशन शेरचनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कन, कर्मदा साहित्य मञ्चका अध्यक्ष जगदीश्वर पोखरेल रहनु भएको उक्त काव्य गोष्ठीमा कविहरु चूडा निर्भिक, हिमलाल श्रेष्ठ, उत्तम भेटवाल, संगिता खरेल, सरला तिमल्सिना ममता बगाले, सिता पाण्डे, प्रज्ञा पौडेल, बाल कवि अभि अधिकारीले आदिकवि भानुभक्तमा समर्पित कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि शेरचनज्यूले आजको कार्यक्रमले साहित्यिक उत्साह जगाएको छ । वातावरण सम्वन्धी काव्य गोष्ठी गर्दै आएकोमा यसपाली भानु विशेष गर्ने मौका पायौ भन्नु भयो । विशिष्ठ अतिथि चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले भानुभक्त भन्दा पनि अगाडि कविहरु थिए तर भानुभक्तलाई आदि कविको रुपमा मानेको पाइन्छ यसो हुनुमा भानुभक्तको रामायण सरल जनजिब्रोले बोलिने भाषा भएकोले नै हो भन्ने मन्तव्य व्यक्त गर्नु भयो । विदुर कोइरालाको उद्घोषणमा भएको र डा हिमलाल श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रममा विशिष्ठ अतिथि जगदीश्वर पोखरेलले मोतिरामले नचिनाएको भए भानुभक्त सायद आजका भानु हुने थिएनन् भन्नु भयो ।

चूडा निर्भिकले नेपाली साहित्यमा भानुभक्तको योगदानको चर्चा गर्नु भएको थियो भने वाचित कविताको समीक्षा उत्तम भेटवालले गर्नु भएको थियो । सभापतिको आसनबाट झमक कार्कीले सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु हुँदै चन्द्रागिरि साहित्य प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो । त्यसै गरी भानु जयन्तीको अवसरमा तारकेश्वर कला प्रतिष्ठानका आयोजनामा बालाजु बाइस्धारा पार्कभित्र भानुभक्तको सालिकमा माल्यार्पण तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष उत्तम के.सी नेपालको सभापतित्वमा र साहित्यकार लेखक कवि श्रीहरी फुयांलको प्रमुख आतिथ्यमा सुसम्पन भएको हो ।

उक्त अवसरमा साहित्यकारहरु भोजराज नेउपाने, बासुदेव ठकुरी, भिस्मराज ढुङ्गेल, बालचन्द्र सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवि, कवियत्री दिलकुमारी डगोल, बाल कविहरु प्रतिष्ठित भण्डारी, अभिमा घिमिरेहरुले कविता वाचन गर्नु भएको थियो । सोहि समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार, लेखक श्रीहरी फुयांल ज्यूले भानुभक्तको महिमा सहित जीवन गाथा वर्णन गर्नुभएको थियो । बलराम फुयाँलले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गर्नु भएको थियो । धुर्ब खड्काले कला साहित्य गित संगीत एक अर्काको पुरक रहेको बताए ।

संस्थाका अध्यक्ष उत्तम केसीले भानुक्तको रामायणको श्लोक पाठ गरि कार्यक्रम सफल पारिदिनुभएकोमा कवि तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा चलचित्र निर्देशक अमर वलि कलाकारहरु बिकास दास, अन्जनी के सि, दिप्त प्रकाश अधिकारी केशव सिठौला, हरिहर सिलवाल समाजसेवी इन्द्र नारायण मानन्धर बाइस्धारा पार्क का कार्यालय प्रमुख निरन्जन बस्नेत सामाजिक अभियन्ताहरु जेवी रसाइली, राम पान्डेका साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सहजीकरण गोपाल घिमिरेले गर्नुभएको थियो साथै संस्थाको महासचिव प्रकाश विक्रम थापाले स्वागत गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष रामशरण कोइरालाले कार्यक्रम ब्यवस्थापन गर्नुभएको थियो ।

भैरहवामा भानुजयन्ती
सिद्धार्थ साहित्य परिषद् भैरहवाले २११ औँ भानुभक्त जयन्ती मनायो । देवी न्यौपाने धीरको संयोजकत्व, परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, विधान आचार्यको प्रमुख आतिथ्य, काशीराज आचार्यको विशिष्ट आतिथ्यमा सम्पन्न भयो । यस अवसरमा ठाकुरचन्द्र शर्मा, चतुर्भुज आत्रेय र सरु ज्ञवाली सिद्धार्थ साहित्य पुरस्कारद्वारा पुरस्कृत हुनुभयो भने सन्तोष पाण्डे, दीपक प्रधान र कमल पोखरेल समेत चार जनालाई सिद्धार्थ साहित्य सम्मान अर्पण गरिएको जानकारी रमेश समर्थनले दिनु भएको छ ।

स्याङ्जामा भानु जयन्ती
२११ औँ भानुजयन्तीको अवसरमा भेषजराज साहित्य प्रतिष्ठानद्वारा आयोजित काव्य विमर्श एवम् नियमित रचनावाचनको ७४ औँ शृङ्खला तथा वालिङ नगरपालिका स्तरीय कविता प्रतियोगिता वालिङ वालिङ बहुमुखी क्याम्पसमा सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. टंकप्रसाद पन्थलाई आमन्त्रण गरिएको थियो । प्रमुख अतिथिबाट व्यानरमा लेखिएको कुरा वाचन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
भानुभक्त आचार्यको योगदानको विमर्श, कविता प्रतियोगिता तथा नियमित काव्यवाचन कार्यक्रम सम्पन्न भएको छ । विशिष्ट कविता र सन्दर्भहरू प्रस्तुत भए ।

त्यसै गरी २८ गते शुक्रबार भानु साहित्यिक प्रतिष्ठान, काँकडभिट्टामा कविता वाचन कार्यक्रममा सम्पन्न भएको थियो भने २९ गते शनिबार श्रद्धेय आश्रम, मेची नगर जोर सिमलमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न भएको जानकारी धुलाबारीबाट विनोद खनालले दिनु भएको छ । भानुभक्त नेपाली भाषा साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति हुन् । उनको जन्म वि.सं.१८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । रामायण, प्रश्नोत्तर, भक्तमाला आदि उनको चर्चित कृति हुन् । रामायण नेपाली भाषाको आदिमहाकाव्यका रूपमा चिनिन्छ । भानुभक्तका रचना प्रकाशमा ल्याई उनलाई चर्चित बनाउने स्रष्टा मोतीराम भट्ट हुन् । मोतीरामलाई नसम्झीकन भानु पनि पूर्ण हुँदैनन् । भानुको निधन १९२५ असोज ६ गते भएको हो ।