• २०८१ माघ २ बुधबार

जुनू घिमिरेको ‘प्रदीप्त मन’ लोकार्पण

काठमाडौँ ।

जुनू घिमिरेको कवितासङ्ग्रह प्रदीप्त मन सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा वरिष्ठ कवि तथा नाटककार अशेष मल्ल, मदनपुरस्कार विजेता कवि डा.नवराज लम्साल, कवि समालोचक शैलेन्दुप्रकाश नेपाल र छन्द कवि डा.देवी नेपालले संयुक्त रुपमा कवितासङ्ग्रहको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ कवि तथा नाटककार अशेष मल्लले जुनू घिमिरेको कवितामा समयको स्वर रहेको बताए । उनका कविता सरल छन् तर वोधगम्य छन् । पुस्तकमाथी आफ्नो धारणा राख्दै कवि तथा गीतकार डा.नवराज लम्सालले जुनू घिमिरेको कविता कचपल्टेका छैनन् र अर्थबोधको हैरानी पनि छैन । राम्रो बनाउने नाममा अस्पस्टता र क्लिष्टता पनि छैन भने ।

समिक्षक शैलेन्दुप्रकाश नेपालले, जुनूले इमानदारीपूर्वक कविता कोरेकी छिन् र शब्द समायोजनको पक्ष सुन्दर रहेको बताए । यसै गरि अर्का समिक्षक डा.देवी नेपालले सकारात्मक सोच नै जुनूका कविताको विशेषता रहेको बताउँदै जुनूका कविताको उठान र अन्त्य अझै सशक्त छ, भने ।

कार्यक्रम कविहरू निर्जाला लम्साल, रचना दहाल र सुशील शर्माले प्रदीप्त मन भित्रबाट केही कविताहरू वाचन गरेका थिए । कार्यक्रममा चाँगुनारायण सहित्यिक समाजका अध्यक्ष लालबाहदुर भुजेल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, प्राज्ञ पुरू लम्साल, डा.देवी क्षेत्री दुलाल, डा सीता सुवेदी, डा.अशोक थापा सहप्राध्यापक, नेत्रप्रसाद न्यौपाने लगायत कवि साहित्यकारहरूको उपस्थिति रहेकोे थियो । कवितासङ्ग्रहलाई जुपिटर पब्लिकेसन्सले बजारमा ल्याएको हो ।