केही दिन
कतै कोही मरेन
कहीं कसैले
कसैलाई मारेन
शान्त थियो
र,
म प्रतिद्वन्दीविहीन
एक्लो दौडमा थिएँ
निर्विकल्प विजेता म
सबै सिद्धिएर
आफ्नो मात्र एकछत्र शासनको
कोमल आसनमाथि
गजधम्म बसेर
अरु सबैलाई
आफूभन्दा
पुड्का र होचा
देख्न थालें
एक दिन
एकाबिहानै कसैले
मेरो ढोका
ढकढक ढक्ढक्यायो
चुकुल खोलेर हेर्दा
उही
आतंक पो मुस्कुराइरहेछ
जसलाई म
अर्काको विरुद्ध काम लगाउथें
म उसलाई
भित्र पस्ने निम्तो दिँदै
दिनभरि सत्कार गर्दै बसें
उसले
मेरा प्रतिद्वन्दीहरू समाप्तिको
एक…एक कथा
नबिराइ…नबिसाइ सुनाउँदै गयो
साँझपख मैले
जब उसलाई आजको दिनको
अन्तिम सत्कार गर्न
केही बाँकी छ कि ?
सोधेको मात्र के थिएँ
उसले मलाई नै पो
झम्टेर आक्रमण गर्यो
मेरो प्रतिद्वन्दीको आदेशमा
आतंक
उसको भएन
मेरो आदेशमा
र
मेरो पनि रहेन
उसको हुकुममा…
राजेश ढुंगाना