• २०८० मंसिर १९ मङ्गलबार

दाल–भात–डुकू

लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा

दुखको लामो सडकमा,
पीरको केही छडकमा,
चलदथें, ‘टुक टुक टुकू !’
आफूजस्तै लाख हेरी,
बेला, बेला,
पार्न साजा ध्येयध्वनि नै मानवी उरबाट फेला,
जसको आत्मा रस–घुटुको
पथमा चल्दै ‘टुक टुक टुकू !
टुक टुक टुकू !’

डाक्टरहरूले मानव–मुटुमा स्टेथोस्कोपमा कान थापी
एक रोमान्टिक अर्थ लाउँथे,
‘लवढव ! लवढव !’ बोल्छ रे त्यो
भन्ने मिथ्या खूब फिंजाउँथे !
मानो लभको कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाई
बोल्छ भाइ !
शिरीं फरादका स्वप्न गाई !
मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई !
यो रोमानी अर्थ लाई !
यथार्थवादी युगमा आज, किन म मानूँ बोल्न लाज ?
छाती छाम्दा, गन्दा, गुन्दा,
निष्पक्षपाती भाव जम्दा,
पाएँ मैले बोल्दो अर्को क्वै कुकू !
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’

अन्तरात्माको महावन, सकल नर–उर–विहग–गुञ्जन
सत्य स्वरमा यत्ति भन्छन्,
जो विना सब अस्तगौरव,
हुन्छन् केवल पुक पुक पुकू !
विश्वहृदयको स्पन्दध्वनि हो
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’

कोटले, भेस्टले छिपाई,
दिलको गहरीमा लुकाई,
बोक्रे इज्जत शान गर्छ,
मुटुको ध्वनि यो भन्न मर्छ,
तदपि मेरो के शरम ?
लेऊ गरम या लेऊ नरम ! स्पष्टवक्ता कवि के डर्छ ?
जीवको यो प्रथम स्पन्दन,
लहलहाउने सृष्टि नन्दन,
सकल रसको एक नायक,
भवस्पन्दक, प्यासगायक,
सब कलाको प्रथम विनायक,
‘ढुकढुकूको ढुकढुकूको ढुकढुकू,
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’

मासुसँगमा गाँसिएको, हृदयसँगमा टाँसिएको,
जीव मासी नमासिएको ।

शाश्वत ध्वनि, छातीमनि, प्रतिश्वास गनी,
बोल्छ, बोल्छ, सत्ते बोल्छ, अन्नमय कोषको कुकू,
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’

पहिलो जलमा प्रथम स्फुरणमा विष्णुको नै नाभिस्थलमा
यो डुकू–दल जन्मिएको !
दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको,
दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको,
भात त्यो हो जसको निम्ति अलम दुनियाँ
ढिक्किच्याऊँ गर्छ सारा पथभरी चामल, फलेर
रौशिएर या गलेर ।
ध्वनिविचारी सहमत होलान्,
यसले सारा हृदय छोलान्,
अन्नमय कोषको कुकू !
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’

ए भलाद्मी, लौ विचार !
के हो यो मिथ्याप्रचार ?
शान्त क्षणमा घडीले हान्दासम्म नक्कली ‘टिक टिक टिकू’
पलङ्गमाथि लेटी सोचे
होइन के ‘दाल–भात–डुकू !’

यो विना बल्ला बबण्डर, क्रान्ति होला, ध्वंश होला,
पृथ्वी रोला,
सभ्यताको के प्रथम जग ? हामी बेकार के लुकूँ
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’

दर्शन जो बुझ्दैन, गहिरो प्याङ हो अभिमानको !
अन्धताको शानको ।
बुझ्ने बुझून्, यसकै निम्ति लड्छन्, मर्छन्,
कार्य गर्छन्,
यसको राष्ट्रियकरण केवल आजको हो तपस्या,
जुग–समस्या,
यो नजान्ने लीडर भेडा,
चल्छ त्यसले राष्ट्र–बेडा ?

हेर ! एक बार आर्यघाटमा। ईश्वरको यो राजपाटमा !
ब्रह्मनालमा तेर्सिंदामा खोजमा लाचार भै,
नष्ट भू–आचार भै,
बाई, बाई, पक्क पक्क मुख भन्छ मानिस आखिर !
स्वर्गका हे अधिराज हाम्रा ! छैनौ चाम्रा !
करूणा गर !
पृथ्वीमा यो पाइएन,स्वर्गमा होला भनेर
अर्कोतर्फ धाइएन,
आँ ! आँ ! प्रभु ! आँ ! आँ ! प्रभु !
‘दाल–भात–डुकू ! दाल–भात–डुकू !’


(देवकोटाका कवितामाथि विद्यावारिधि गरेका प्राडा कुमारबहादुर जोशीका भनाइमा यो कविता महाकविले २००८ तिरै लेखेका हुन् तर प्रथम प्रकाशित भने २०१३ मा ‘इन्द्रेणी’ भएको हो ।)