• २०८२ जेठ ४ शनिवार

चेतनपथ माधवका चार मुक्तक

चेतनपथ माधव

चेतनपथ माधव

आफैं आफ्नै हातमा जन्जिर राख्दैछ
सम्झनाले सिरानीमा तस्बिर राख्दैछ
सबैको भाग्यमा प्रिय छाती हुँदैन नि
रुनलाई कोही पत्थरमा शिर राख्दैछ ।

सूर्यमुखी जस्तै सूर्यतर्फ मरक्क मर्कन्छ्न् बाहिरबाटै
कर्कलाको पातमा भ्रम परेजस्तै तर्कन्छन् बाहिरबाटै
के सम्झेर आउँछ्न् मान्छेहरू, के खोज्छन् मभित्र
खण्डहरलाई जस्तै हेर्छन् अनि फर्कन्छन् बाहिरबाटै ।

हरपल मुटुभित्रको तस्बिरले सताएको छ
खोज्दा खोज्दै खुट्टामा ठेला पलाएको छ
सोच्नोस् त ! त्यो बटुवा कहाँ पुग्छ होला
जसलाई सम्झनाको बाढीले बगाएको छ ।

पत्थरमा ठोकिँयो र पनि भरिलो भएर आयो
समयमा च्यापियो झन् सजिलो भएर आयो
बस् ! एकचोटि ठोकिएको हूँ तिम्रो नजरसँग
तन नजरमै टासिँयो र मन गिलो भएर आयो ।


चेतनपथ माधव