समाचार

कवि रजनी खत्री’को कवितासंग्रह ’अनुभूतिका प्रतिबिम्बहरू’को सार्वजनिक गरिएको छ । सेतीदेवी माध्यमिक विद्यालय,सोखेल तथा सुसेली साहित्यिक प्रतिष्ठान दक्षिणकाली नगरपालिका वडा नम्बर ३ को संयुक्त आयोजनामा सेतीदेवी माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको थियो । सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको सभापतित्व तथा स्रष्टा किशोर पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण कार्यक्रममा विशेष अतिथिहरू दक्षिणकाली नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रचण्डमानसिंह बस्नेत, ४ का अध्यक्ष पुष्कर खड्का, ५ का अध्यक्ष श्यामबहादुर खत्री, समीक्षक रीता बलामी, कथाकार डा.शेखरकुमार श्रेष्ठ, दक्षिणकाली नगरपालिकाका शिक्षा विभागका निर्देशक जनार्दन रिजाल, शिक्षक पुरुषोत्तम भुर्तेल, विद्यालय व्यवस्थापनका अध्यक्ष सनतकुमार बस्नेत, प्रकाश विसुङ्खे तथा कवि सुभाषचन्द्र पौडेल’भीमफेदीया’ को उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि स्रष्टा किशोर पहाडीले दक्षिणकाली नगरपालिकाभित्र साहित्यिक गतिविधिहरू बढ्दै गएकोमा हर्ष व्यक्त गर्दै सुसेली साहित्यिक प्रतिष्ठानले साहित्यिक क्षेत्रमा पु्र्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । कवि रजनी खत्रीको पुस्तकमा भएका केही भाषागत त्रुटि र अशुद्धिप्रति सचेत गराउँदै कृति प्रकाशन तथा जन्मदिनका लागि बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमका सभापति सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रले प्रतिष्ठानका गतिविधिमाथि संक्षेपमा प्रकाश पारेका थिए। २०६५ सालमा स्थापित प्रतिष्ठान साहित्यिक कृयाकलापमा निरन्तर रूपमा अघि बढिरहेको छ र बढिरहन्छ भन्दै उनले प्रतियोगितात्मक कार्यक्रम र विद्यालय तहमा प्रशिक्षणमूलक कार्यक्रम गर्ने प्रतिष्ठानको योजना रहेको बताए ।
विमोचित कृति’अनुभूतिका प्रतिबिम्बहरू’को चिरफार गर्दै समीक्षक रीता बलामीले रजनी खत्रीका कविताहरू सरल भएर पनि स्तरिय छन् र कविताले मन छुन्छ भनेर बताइन् । साथै, उनले कविताभित्र आफ्ना अनुभव र अनुभूति मुखरित भएको पनि बताएकी थिइन् । समीक्षात्मक टिप्पणीपछि उनले आफ्नो एउटा गजल पनि गाएर सुनाएकी थिइन् । कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष प्रचण्डमानसिंह बस्नेत, ४ का अध्यक्ष पुष्कर खड्का, ५ का अध्यक्ष श्यामबहादुर खत्री, जनार्दन रिजाल, पुरुषोत्तम भुर्तेल, वीरेन्द्रकुमार बलामी, विजय कुमार महर्जन, रजनी के.सी., डा.शेखरकुमार श्रेष्ठ, प्रकाश विसङ्खु, बुद्धिमान महर्जन, बद्री कार्की, नीरा श्रेष्ठ, किरण नेपाली तथा सुभाषचन्द्र पौडेल’भीमफेदीया’ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आफ्नो लेखकीय मन्तव्य राख्दै कवि रजनी खत्रीले लेखनयात्रामा आफ्नो पिताको प्रेरणा रहेको बताइन् । विमोचित पुस्तकमा भएका कविताहरू उनको आफ्नै जीवन भोगाइका अनुभूतिहरू भएको पनि बताएकी थिइन् । कवयित्री खत्रीको यो दोस्रो कृति हो । यसअघि २०७८ मा उनको ’पीडामा खुसी’ कवितासङ्ग्रह प्रकाशनमा आइसकेको छ ।