नेपाली र भारतीय नसा रोग विशेषज्ञ चिकित्सकहरूले लेखेको केस बेस अप्रोच टु कमन न्युरोलजिकल डिसअडर्स पुस्तक अन्तर्राष्ट्रिय प्रकाशन स्प्रिङगरको रोजाइमा परेको छ । पहिलोपटक स्प्रिङगरले यस्तो किसिमको पुस्तक प्रकाशन गरेको हो। यस पुस्तकमा कुनै पनि बिरामी चिकित्सककहाँ आउँदा प्रथम चरणमै कसरी छिटोछरितो रोगको लक्षणअनुसार पहिचान गरी त्यसको कारक तत्त्व पत्ता लगाउने र सहज, सरल तरिकाबाट रोगको निदान, रोकथाम गर्न सकिन्छ भन्ने विषयवस्तुहरू समेटिएको छ ।
नसारोगजस्तै पक्षघात, बिर्सने रोग, छारेरोग, शरीर हल्लिने रोग, मस्तिष्कघात, आँखाको पक्षघातजस्ता घातक रोगहरूको पहिचान गर्न नै लामो प्रक्रिया लाग्ने र उपचार पनि निकै खर्चिलो भएका कारण यस पुस्तकले चिकित्सकहरूलाई रोगको पहिचान र निदान गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ। समयमै रोगको पहिचान हुने भएपछि सर्वसाधारणहरूको उपचारमा पनि कम खर्च लाग्नेछ ।
आधुनिकतामा बदलिँदो समय र परिस्थितिसँगै चिकित्सा क्षेत्रले पनि फड्को मारिरहेको छ । यसै क्रममा नसारोगको क्षेत्रमा कसरी स्मार्ट तरिकाले बेलैमा रोगको पहिचान गर्ने र छिटोछरितो उपचार गर्न सकिन्छ भन्ने आजको आवश्यकता हो। आजसम्म यस्तो किसिमको पुस्तक प्रकाशन नभएकाले यो पुस्तकको महत्त्व बढी भएको पुस्तकका सम्पादक प्रा.डा. कृष्णकुमार ओलीले जिकिर गरे ।
अन्तर्राष्ट्रिय प्रकाशन स्प्रिङगरले प्रकाशित गरेको यो पुस्तक विश्वबजारमा उपलब्ध छ । चिकित्सकहरूलाई तत्कालै रोगको पहिचान र उपचार गर्न, अनुसन्धानकर्ताहरूलाई अनुसन्धान गर्न तथा एमबिबिएस, एमडी इन्टर्नल मेडिसिन, एमडी जिपी, न्युरो क्रिटिकल केयर इन्टेन्जिभिस्ट, डिएम, पिएचडी न्युरोलोजी पढ्दै गरेका विद्यार्थीलगायत सम्पूर्ण तहका लागि यो पुस्तक लाभदायी हुने पुस्तकका सम्पादकद्वय डा. जेन्टलसुन्दर श्रेष्ठ र डा. राजीव ओझाले बताए ।
यस पुस्तकलाई मुख्यगरी प्रोफेसर डा. कृष्णकुमार ओली, डा. जेन्टलसुन्दर श्रेष्ठ, डा. राजीव ओझा, प्रोफेसर डा. प्रमोदकुमार पाल, डा. सञ्जय पाण्डे, डा. विभुकल्याणी दास गरी ६ जनाले सम्पादन गरेका छन् । लेखक, अनुसन्धानकर्ता र सम्पादकहरूको झन्डै सात वर्षको अथक प्रयासपश्चात् केस बेस एप्रोज टु कमन न्युरोलजिकल डिसअडर्स पुस्तक विश्वबजारमा आएको हो । यो पुस्तकले न्युरोसाइन्समा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।