• २०८१ मंसिर २८ शुक्रबार

बेथिती बोल्ने सडक र शान्तियात्रा

 जनक तिवारी

जनक तिवारी

यो दुनियामा घुमफिर गर्न नरूचाउने कमै होलान् । यात्राको सौखिनै ठान्छु म आफूलाई पनि । उसो त हाम्रा पुर्खाहरूको इतिहास पनि घुमफिर गरेरै बितेको थियो भन्दा पनि हुन्छ । सुरक्षिततरहले बस्ने, खाने, लाउने चिजको खोजीमै बितिरहेकै हो मानिसको जीवन । आखिर जन्मनु, बढ्नु, खाइखेल्नु र मृत्युवरण गर्नु पनि त एक यात्रा नै हो । यिनै र यस्तै कुराहरू सोच्दै थप यात्राका लागि आफूलाई सु¥याउँदै गर्छु म ।

जीवन संगिनीलाई, “एउटा मिटिङमा नगई नहुने भो ।” भन्न के भ्याएको थिएँ, “यो उमेरमा पनि कति खुट्टा उचालिरहनु परेको ? अनि त्यो जिउमा उति सन्चो पनि त छैन ।” कुरा मनाशिवै भएर पनि तिनमा त्यति टेरपुच्छर नलाईकनै यात्राको तयारीमा जुटें । खासै तयारी के नै पो, गर्नु थियो र ? बुटवल त पटक पटक गइराखेकै ठाउँ न पुरयो । जे होस् यात्रा गर्नुभन्दा अगाडी यात्रा गर्नुको उद्देश्य, जान लागेको ठाउँको भौगोलिक अवस्था र त्यहाँ रहँदाको बखत आफूलाई आवश्यक पर्ने सर–सुविधा जस्ता कुराहरूमा बिचार पुरयाउनु जाति हुन्छ । भोलिपल्ट अपरान्न एघार बजेको कार्यक्रम भएकाले सामान्य तयारी गरेर सुतेँ म ।

बिहानै पाँच बज्नासाथ भृकुटीचोकमा पुगी पश्चिमतर्फ जाने बसको इन्तजार गर्न थाले म । मध्यगर्मीयाम भएर होला त्यति सबेरैको मौसम पनि उकुसमुकुस लाग्ने खालको ! भत्केको बाटोले गर्दा खुट्टाको कुर्कुच्चैसम्म आउने धुलाको चाङ । अनि ठूलो आवाज निकाल्दै हिँड्ने मालवाहक ट्रकहरूले विथोलेर आकाश तर्फ उडाई दिन्छन्, यही धुलो । बसले ढिला गरेकाले ठिङ्ग उभिएरै यी सबै परिदृश्यहरूलाई बेचैनीका साथ नियालिरहेको छु मैले । यसैबीच मेरा आँखा नजिकैको कागज कारखानातर्फ मोडिए । अनि मनमनै सोचें, “बसको प्रतिक्षामा एकैछिन उभिंदा त यति बेचैन छु म । निर्जिवै किन नहुन् त्यस्तो विवत्स अवस्थामा वर्षौंदेखि उभिरहेका यी संरचनाहरूले के हाल भोगिरहेका होलान् है ? निजीकरण साथै आर्थिकमन्दि मारमा परेका अन्य उद्योग कारखानाहरूको हालत पनि त यस्तै यस्तै छ । अहिले !

निधारमा नारायणगढ–नेपालगञ्ज लेखेको एउटा बस आएर मेरै सामु उभियो । नेपालगञ्ज आजै पुग्न पर्ने हुँदा छिटो कुद्ने बस होला नि ! भन्ठानेर त्यसैमा चढेर कण्डक्टर भाइको इशारा अनुसार पछाडिको खाली सिट तर्फ अगाडी बढें । बस हिँडिहाल्यो । के हिँड्यो मात्रै भन्नु र रोपाईका बेला आफ्नै हलिसँग बिच्किएको गोरूले झैँ मज्जाले बुर्कुसी मार्न पो थालीहाल्यो बसले त । सिटमा गई बल्लतल्ल बस्न भने भ्याएँ । दायाँ बायाँ हल्लाएको त सहनै परयो । तर तल–माथि उफार्दा बसको सिलिङको डन्डीमा टाउको ठोकिएला कि भन्ने ठूलो पिर ! मेरो मात्र कहाँ हो र ? उक्त बसका अन्य सिटहरूमा बसेका यात्रीहरूको पनि हालत उस्तै थियो । “समयमै बाटो नबनाउने नालायक सरकार अनि ठेकेदार र रमिते बन्ने नेताहरू ।” अलि बीचतिरको सिटमा बसेका अलि खाइलाग्दा यात्रुहरूको राष्ट्रिय स्तरको गफ गाफको एक अंश थियो यो । यसैबीच “ओ हो ! कति गर्मी हो ?” भन्दै एकजना युवा यात्रीले आफुपट्टिको झ्याल खोलिहाले । तब धुलो सहितको एक मुस्लो हावा भित्र छिरेपछि सबै यात्रीहरूले कोकोहोलो मच्चाउन थालिहाले । यात्रुहरूका बीचमा झ्याल खोल्ने र बन्द गर्ने विषयमा हान्थाप चल्दैगयो । यो विवाद आउनुको मुख्य कारण उक्त बस भित्र एसी सुविधा भएर पनि नचल्नुले नै थियो ।

यसैबिच, “लौ दलदले आयो ।” भन्दै कन्डक्टर भाई बसको मूलढोका तर्फ सोझिए । गुरूजी चैंँ हाम्रो बसलाई पहिलै देखि त्यहाँ रोकिरहेको अर्को बसलाई छेकिने गरी लगेर तेर्स्याए । अब दुवै बसका स्टाफहरूले बस चढ्नका लागि त्यहाँ प्रतिक्षारत यात्रु र तिनका पोका–पन्तुरा समाति आ–आफ्ना बसतर्फ लैजानका लागि तानातान गर्न थाले। केहीक्षण यस्तै यस्तै गल्फती चलि नै रह्यो । तत्पश्चात स्थानीय टिकट काउन्टरका मान्छेहरूको हस्तक्षेप र मोलमोलाईबाट उक्त स्थिति साम्य भयो । उक्त सहमतिको आधारमा भागबण्डामा परेका यात्रुहरू तोकिए अनुसारका बसहरूमा चढ्न बाध्य पारिए । अब दुवै बसहरू एकआपसमा उछिना–पाछिन गर्दै अगाडि बढ्न थालिसकेका थिए । यो देशमा बढी मात्रामा यात्रु चाप भएका बस स्टेसन र स्टपहरूमा यस्ता परिदेश्यहरू देखिनु सामान्य कुरा जस्तै हुन् ।

अबभने हाम्रा कन्डक्टरभाई बसभित्रका हामी यात्रुहरू तर्फ सोझिए र भाडा उठाउन थाले । उनैले तोकेको भाडा रकम बुझाएपछि- “बुटवल कतिबेला पुगिएला त बाबु…?” भन्ने मेरो जिज्ञासा सकिन नपाउँदै उनले भने- “ए बा, यस्तो कन्तबिजोग बाटोमा ! कहाँ कतिबेला गाडी जाम वा के हुन्छ ? भन्ने ठेगान हँुदैन । त्यसो हुँदा, अब मैले तपाईँलाई के भनौँ ?” यस्तै बाटोको अवस्थामा सरासर जान पाइएमा नारायणघाट देखि बुटवल (११३ किलोमिटर) सम्मको बस यात्रा ५ देखि ७ घण्टाको हो यही बुझ्नुस् ।” उनले थथ्र्याए । “अनि यो बस त आजै नेपालगञ्जसम्म पुग्नुपर्ने होइन र ?” मेरो दोस्रो जिज्ञासामा अलि उत्ताउलो पाराको उनको जवाफ यस्तो रह्यो- “तपाईँ बुटवलमै झर्ने मान्छेलाई उताको किन चिन्ता ? समय रहे र प्यासेन्जर पाएमा जाने । नत्र बिना सित्तैमा बस दौडाएर त भएन नि ?” यति भन्दै उनी अगाडि बढे। हुनपनि दिनहुँ अनेकतरह स्वभावका बस यात्रीहरूका कचकच वा गुनासाहरू सुन्दै, बिग्रेका बाटोमा जीर्ण खालका बस लिएर हिँड्नु कम्ता हन्डर हुँदैन यिनीहरूलाई । यस्तै यस्तै कठिन परिस्थितिहरूसँग जुध्ने र साइनो गास्ने कुरामा ‘खली’ भैसकेका हुन्छन् रोडलाइनका यी स्टाफहरू ।

यतिन्जेल हामी लोकाहा पुल तरेर अलिकता परको सानो उकाली कटिसकेका थियौं । अब “थोरै बेर भएपनि नयाँ पिचमा सरर गुड्न पाइने भो” भन्ने अनुभूति भैहाल्यो म मा । प्यास लागेको बेला एक घुड्की मात्रै भएपनि चिसो पानी पिउन पाउँदा कस्तो हुन्छ त्यस्तै । यता बसको झ्यालबाट छिरेको चिसो र धुलोरहित हावाले हामीलाई सुमसुम्याउन थालिसकेको थियो । “हरियाली जंगलका बीचबाट पिचबाटोमा हिँड्न पाउँदाको मजै अर्कै ।” अगाडिपट्टि सँगैको सिटमा बसेका दुई यात्रीहरू यसरी गुनगुनाउँदै थिए । “यहाँदेखि बर्दघाटसम्मै हाम्रो बस, जंगल र बस्तीहरूसँग लुकामारी खेल्दै अगाडि बढ्ने छ । वास्तवमा यस क्षेत्रको वनको हरियाली चानचुने मेहनतले भएको होइन। वन संरक्षण र उपभोगमा स्थानीय जनताले अपनत्व महसुस गर्ने गरी लागू गरिएको सामुदायिक वनको अवधारणालाई यसको जसदिन पर्छ। जेहोस् विगतमा जे जस्तो भएता पनि अहिलेको अवस्थामा सामुदायिक वन क्षेत्रको संरक्षणमा नेपाललाई अन्तर्राष्ट्रिय जगतले पनि प्रशंसा गरिरहेको अवस्था छ। यस्तै अवस्था विकास निर्माणका अन्य क्षेत्रमा पनि भैदिए कति जाति हुन्थ्यो होला है ।”

पिसाबले च्याप्न थालेको पनि अलिबेर भैसकेको थियो । उक्त ‘पिरालो’ बिसाई पाउन भन्दै कन्डक्टरभाईलाई हातैले संकेतिक इशारा गरे। मेरो इसारामा अन्य चार पाँचजना यात्रीहरूले पनि समर्थन जनाए पछि म अलि ढुक्क भएँ । र मख्ख पर्दै मनमनैं सोचे, “हो त हामी नेपालीहरूको सल्लाह अन्य कुरामा नमिले पनि, यस्ता कुरामा भने सहजै मिल्छ है ।” “अब दुम्कीबास तिर ।” भन्ने इसारा बुझेपछि म अलि ढुक्क भएँ । तर त्यहाँ पुग्नुभन्दा अलियतैबाट हाम्रो र अर्को बस बीचमा लगेरा–लघेर चल्न थालि हाल्यो । त्यसैले हाम्रो बस दुम्कीबास चोकमा यसो रोकेझैँ गरेर सुईकुच्चा ठोक्यो । पिसाबको ‘पिरलो’ परेका हामी दुई चार जनाको गुनासोलाई “अब दाउनेमा है ।” भन्ने आश्वासनले टारिएपछि आआफ्ना सिटमा थचक्क बस्दै अरू केहीबेरसम्म पिसाब च्यापिरहनुको विकल्प रहेन । यस्ता अनेकौं समस्याहरू सार्वजनिक यातायातमा यात्रा गर्ने विशेषतः पाको र रोगी अवस्थाका प्राय धेरै यात्रीहरूले भोग्न बाध्य भएकै हुन्छन् । यस्तैै यस्तै कुरा सम्झदै केहीक्षण आफूलाई थामथुम गर्ने प्रयत्नमा लागे म ।

अहो १ दाउनेको बाटो ! त्यसलाई बाटो भन्ने कि ‘धुलै धुलाको चाङ !’ अनि दिनहुँ हजारौंको संख्याका सवारी साधनहरूको ओहोरदोहोरबाट बुङबुङती उडेको त्यही धुलोले गर्दा आफूभन्दा अगाडि केही देखिए मरिजाम् ! अन्य सवारी साधनहरूले झैं हाम्रो बस पनि दिउँसै हेडलाइट बालेरै दमको रोगीले झैँ ठसठस कन्दै, उकालो चढ्दै थियो । दाउन्ने बजार पुगेपछि अन्य यात्रुहरूले झैँ मैले पनि दाउन्ने देवीसँग यात्रा सफलताको पुकारा गरे । अनि यसो सोचें बाटो बिगार्नु र बनाउनुमा यी देवीको भूमिका त नै के हुन्छ र ? तर “भोट हाल्दा नेता । र सङ्कट पर्दा देवी देवता ११“ सम्झने हामी नेपालीको परम्परै छ त ? भन्दै आफैले आफैलाई चित्त बुझाएँ ।

बजार कटे पछि बर्दघाट तर्फको ओरालो सुरू भै हाल्यो । तर उता (बर्दघाट) बाट यता आउने गाडीको लर्को नदेखिंदा अलि परतिर बाटो जाम पो भइसकेको हो कि ? भन्ने शङ्का उब्जियो नभन्दै कन्डक्टर भाइले उर्दी लाइहाले कि “अगाडि जाम छ रे ।” अनि थपे “रोकिराखेको बेलामा कोही पनि यो बसबाट बाहिर ननिस्कनु होला । गाडी छुटेमा हामी जिम्मेवार हुने छैनौ है ।” “आ… तिनले भन्दै गर्छन् हामी पिसाब फेर्दै गरौँ ।” भन्दै बसबाट बाहिर निस्कनेहरू थुप्रै भए । त्यै हुलमा म पनि मिसिएँ । ओ हो ⁄ लामो समयसम्म जबरजस्ती रूपमा पिसाब रोक्न बाध्य मनुवाले पिसाब फेर्न पाउँदाको आनन्दै बेग्लै ⁄ त्यही भएर त होला मान्छेको जीवनमा निरन्तर रूपमा आइरहने दुःख सुखका घटनालाई ‘केलाई कम र केलाई बेसी’, भनेर छुट्याउन र मापन गर्नै गाह्रो हुन्छ, भन्ने गरिएको । सवारी साधनहरूको दोहोरो जामले गर्दा सयौं यात्रीहरू बिलखबन्दमा परिरहेको अवस्था थियो त्यहाँ । भोक, प्यास र गन्तव्यमा पुग्ने समयको अनिश्चितता बारेको पिरलोको संकेत उनीहरूको अनुहार र बोलीमा प्रष्टैसँग देखिन्थ्यो । “यसै पनि बाटो साँघुरो र उकालो छ । र भद्रगोल पाराले निर्माण सामग्रीहरू थुपार्नाले बाटो झन् साघुरिएर वान वे (एउटा मात्र गाडी पास हुने) बन्छ । त्यसै ठाउँमा प्रत्येक गाडीवालाहरूले ‘तछाडमछाड’ गर्ने क्रममा कुनै न कुनै गाडी फस्छ वा बिग्रिन्छ । अनि जाम सुरू भइहाल्छ ।” अहिले करिब दुई घण्टासम्म भएको गाडी जामको मुख्य चुरो कुरो, बेली विस्तार लगाउँदै थिए बसका गुरूजी ।

मोबाइलमा मिसकल नम्बर देखेपछि यतैबाट फोन डायल गर्दै भने, “हाम्रो बस दाउन्नेमा जाम परेर भर्खर मात्र बर्दघाट तर्फ ओर्लदै छ। म आइपुग्न ढिला होला जस्तो छ । त्यसैले मलाई नकुर्नुहोला कार्यक्रम गर्दैजानु है बन्धु ।” उताबाट हवस् भन्न नपाउँदै मोवाइलले टुँ टुँ, टुँ ….गर्न थालि हाल्यो। यसो हेरेको चार्ज सकिए छ । सोचे “यस्तो बेलामा मोबाइल नचलेकै जाति ।” “दाउन्नेका यी उकाली ओराली हुँदै पैदलै हिँडेरै ओहोरदोहोर गर्ने गर्थे हाम्रा पूर्वजहरू यो राजमार्ग नखुल्दै । बरू त्यो बेलाको यात्रा पो सुरक्षित थियो कि ?” मनमा यस्तै तर्कना आइनै रहे त्यसबेला ।

यता मकै, चाउचाउ, बिस्कुट र पानी, चटपट लगाएतका फास्टफुडहरू बेच्ने सडक व्यापारीहरूलाई भने मालामाल को अवस्था बन्दै थियो ⁄ कसैलाई सकस पर्दा कसैलाई अवसर ! यसै यस्तै त छ, जीवन र जगतको रित ! “एक ठाउँको खाडल पुर्दा, अर्को ठाउँमा खाडल पर्छ भनेको यस्तै रहेछ । म भने त्यहीं ठाउँबाट अलि परसम्म देखिने पल्लोमधेस (हालको पश्चिम नवलपरासी) तिरका गाउँ बस्ती र फाँटहरू नियाल्ने ध्याउनमा लागे।” उ यहाँबाट सिंधै तलदेखिने बस्तीहरू पालडाँडा, कुकुरमारा, चौपत्ता, सिमरी । अनि अलि पर पूर्वपट्टिका प्रतापपुर त्रिवेणी आदि।” त्यसैगरी “पश्चिमतर्फका वर्दघाट, भुताहा, बासाबसाई लगायत । तर अलि पर परसम्मका दृश्यहरूले भने बाक्लो तुवालोले ढाकेकाले ठम्याउन गाह्रो भो । पर्यावरणीय भाषामा तुवालो भनेकै, धुँवा धुलो वा प्रदूषित हावाको सांकेतिक रूप न हो ।

जाम खुलेर बर्दघाट आइपुगियो । “अब डेढ–दुई घण्टामा त कसो नपुगिएलार बुटवल ? आत्तिन पर्दैन ।” बच्चा काखमा च्यापेकी एकजना अधबैसे महिलाले फोन गर्दै आफ्ना आफन्तलाई आश्वस्त पार्दै थिइन् । अब भने बसका प्राय सबै यात्रीहरू फोनमै व्यस्त हुन थालिसकेका थिए। “बाटो त खतम रहेछ ।” “जाममा परियो…।” “भोकै छु…।” “धुलो धुवा र थकाईले लखतरान परियो ।” “आजको साइतै बिग्रेको ।”….यिनै र यस्तै आवाजहरूले गुञ्जयमान हुन थालिसकेको थियो हाम्रो बस भित्रको वातावरण ।

बर्दघाट बजार हुँदै चिसापानीचोक काटियो । तर त्यस लगत्तै हाम्रो बस सडकबाट दक्षिणपट्टि एकान्त ठाउँमा रहेको ग्यारेज (मर्मत केन्द्र) तर्फ पो मोडिई हाल्यो ⁄ “ ए ! ए ! सरासर नहिडेर फेरि के गरेको…?“ भन्दै यात्रीहरू कराउन थाले । कन्डक्टर भाई भन्दै थिए “बसको पट्टा (स्प्रिङ) भाँचिएकाले मर्मत गर्नुपर्ने भो ।“ थकाई, ढिलाई र भोकले गर्दा लखतरान परेका यात्रुहरूको आक्रोश पूर्ण आवाजको पनि केही सिप चलेन त्यहाँ । हुने हुनामी भई छाड्यो । करिब एक घण्टाको अलमलपछि हाम्रो बस बुटवलतर्फ पुनः सोझियो । म भने बिस्कुटका पुरियाहरूले भोको र लखतरान आफ्नो शरीरलाई टिमाल्ने कोसिस गर्दै विगतका दिनहरू सम्झदै तिनै मा सोच मग्न हुन थाले । यस क्षेत्रमा खाई खेलेका र हिंडडुल गरेका स्मृतिहरू एक पछि अर्काे गरी आउन थाले ।” धेरै पटकको ओहोरदोहोर र बसाइले गर्दा होला । यहाँको गाउँ बस्ती, परिवेश र आकृतिहरूसँग गहिरो सम्बन्ध रहेझैँ लाग्ने ! तर अहिले विकास निर्माण र पटकपटकको बाटो विस्तारले गर्दा ती चिज र मौलिकताहरू माथि आतंकै मचिए जस्तै भान हुन थालेको छ । बाटा छेउका पहिलेका ती अजङ्गका रूख, चौतारी, हरियाली चौर, नाला, खोला, बगर, कुला, नहर, प्रतिक्षालय, वाचनालय, जस्ता संरचनाहरू कता गए आज ? अब त हिँड्दा पनि कहाँ पुगियो भनेर ठाउँ ठम्याउन पनि गाह्रो ! उहिले उहिले हाम्रा चरिचरणमा गाईबस्तुहरूले गोब्य्र्राएका गोबरका थाप्रा (थुप्रा)हरूलाई गोब्रे किराहरूले रातभरिमा तहस–नहस वा सिनित्तै पारेका देखिन्थे नि ! हो त्यस्तै तिनै गोब्रेकिरा झैं लाग्ने यी बुल्डोजरहरू पनि । यो बाटोमा पर्ने रजहर, प्रगतिनगर, कावासोती, चोरमारा र आरूङखोला आदि दाउन्ने यताका र वर्दघाट, भूताहा, भूमही, सुनवल, खैरहनी आदि उताका मुख्य बजारहरूमा गनिन्थे । बाटोखोल्दाका सुरूका दिनहरूमा ती बजारहरूमा देखिने काठका खाँवा, फुसले बारेका र खपडा, टायल वा जस्ताले छाएका घरहरूले स्वरूप बदलेर पक्की हुँदै जान थाले । जब सरकारी बाटो दायाँबायाँको मापदण्ड (दूरी) भित्रको जमिन खाली गराउन थालियो, अनि ती पक्की घरहरूका मुहारहरू पनि पटक पटक ताछिदै गए । अनुहार बिग्रेका, नाकै ताछिएका, दाँत फुक्लेका, टाउको खुइलिएका, भुँडी ताछिए पछिका मान्छेको स्वरूपहरू जस्तै। दिगो नहुने खालको विकास निर्माण क्रियाले यस्तै खालका समस्या निम्त्याउनु कुनै अनौठो होइन । हिँडडुल, शिक्षा, स्वास्थ्य, संचार जस्ता भौतिक सुखसुविधाहरू माथिको आकर्षण र खेती श्रम वा उत्पादनप्रतिको विकर्षणको परिणाम हो, बाटो र यसको छेउछाउमा सर्ने प्रवृत्ति । वास्तवमा हामी आफैका लागि घातक बन्दैछ अहिले यो । प्राकृतिक, भौतिक र पर्यावरणीय हिसाबले फराकिला, हरियाली र सफा–सुन्दर फाँटहरू गाउँ–ठाउँ तिरै थिए । अब तिनलाई छाडेर सडककै वरिपरि थुप्रिए पछि, सडक विस्तारले घर थिलोथिलो, अनि प्रदूषणले मानव ज्यान थिलोथिलो ।” अनि अर्काे कुरा “छिमेकी र आफन्तहरूको देखासिखी अनि उद्यम व्यापारीेहरूको लहै लहैमा लागेर ऋण धन र सरसापटीकै भरमा ठडिएका धेरै नै यस्ता घर वा संरचनाहरू छन् । तर तिनै अलिसान र कोठै कोठा भएका घर (महल)हरूको एउटा कुनामै हराउँछन् त्यसका मालिक वा जहान परिवार । किनकी शिक्षा आर्जन वा रोजगारीका नाममा प्रतेक परिवारका युवा पिढीहरू विदेशिने क्रम बढ्दोछ । अब न ति फर्केरै आउलान् । न त तिनले यि संरचनाहरूलाई आफ्नो नै ठान्ने छन् । रहर वा देखासिकीले लाखौं करोडौं खर्च गरेर र हरियाली मासेर ठड्याइएका कंक्रिटका यि रूखहरू ! दिन प्रति दिन खण्डहर जस्तै बन्दै जाने यथार्थलाई लुकाउँनै किन प¥यो र ?”

जिउ ठिक–ठिकैको र छोटो भएर पनि ठूल्ठूलो (चर्काे) आवाज (हर्न) निकाल्दै हिंडिरहेको घिस्रिरहेको छ हाम्रो बस । “हर्न सानो आवाजको बजाए पनि हुन्न र ?” भन्दा “सबैलाई तर्साउने खालको हर्न नबजाए त बाटै पाइन्न नि बा ।” बसका गुरूजीले हाँसी हाँसी जवाफ फर्काए । त्यसो त यो बाटोमा कुद्ने हजारौं सवारी साधनहरूको यस्तै यस्तै प्रवृत्तिले गर्दा बाटो वरिपरि ध्यनि प्रदुषण बढिरहेको छ । तर ध्वनि प्रदुषण सम्बन्धित चेतना स्तरसम्म पुग्न त अझै कति समय सम्म कुर्नुपर्ने हो हाम्रो समाजलाई ।

यस्तै यस्तै कुरामा सोच मग्न भइरहेको थिएँ म । तर लुरूलुरू हिँडिरहेको हाम्रो बस सडक किनारबाट देब्रेतर्फको ‘लाइन होटेल’ तर्फ सोझिएपछि मेरो निन्द्रा भंग भयो । धेरै कुरा सोच्नै परेन, अब म पनि त्यसै होटलतिर लुरूलुरू लाग्नुको विकल्प थिएन । किनकि त्यो ठाउँमा उक्त होटल बाहेक अन्य होटल वा पसलहरू केही पनि थिएनन् । जसो तसो दुई चार गाँस पेटमा हालेपछि बसमा आएर आफ्नो सिटमा थचक्क बस्दै फेरी सोच्न थाले । “कहाँ जान्छस् र मछली मेरै ढडिया” भनेझैँ एकान्त ठाउँमा खोलिएको त्यो होटल भित्रको अस्तव्यस्तता अनि खानाको स्तर । त्यसको सेवा ! भन्दा कति हो कति बढी असुलेको पैसा सम्झेर रिसाउनु भन्दा हाँस्नु नै श्रेष्कर ठाने मैले । किनभने यस्ता कुराहरू नियमन र नियन्त्रणमा होइन मिलेमतामैे चलेका हुन्छन् । यि कुरा घाम जस्तै छर्लङ छन् । यात्राका क्रममा म जस्ता लाखौं यात्रुहरूले भोग्न परिरहेको तितो भोगाईहरू मध्येको एउटा प्रमुख विसंगति थियो यो ।

करिब एक घण्टाको अलमल पछि हाम्रो बस हिड्यो । त्यस पछि पनि कतिपय ठाउँ पात्र र प्रबृतिहरूका भद्दा उदाहरणहरू पनि नथपिएका होइनन । तर देशकै बेथिति झल्काउने खालका घटनाहरूको पर्याप्त वर्णन यस भन्दा माथि नै आएकाले थपलाई समावेश गर्न आवश्यक दखिएन । करिब एघार घण्टा पछि दिउँसो पाँचबजे तिर बुटवल चौराह पुगेपछि भने मेरो मनस्थिति एकाएक बदलियो । र म अनयासै लुम्बिनी तर्फ जाने बसमा चढ्न पुगेछु । बिना उद्देश्य वा लक्ष बिनाको यात्रा ? भन्दै तर्क गरिरहेको एकमनलाई अर्काे मनले यसरी सम्झाउन थाल्यो । “समयलेको पावन्धिले गर्दा औचित्य सकिइसकेको कार्यक्रम स्थलमा धुलो मैलो र थकाइले लखतरान कायालाई लज्जा बोधका साथ उभ्याउनुको कुनै अर्थ हुँदैन । भोलि बुद्ध पूर्णिमा हो । त्यसैले केही क्षण मात्रै भए पनि काम, क्रोध, लोभ, मोह त्याग्दै मनमा शान्ति लिएर जिउन सिक । बुद्धभन्नु हुन्छ, “हज्जारौ खोक्रा शब्दहरू भन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति लिएर आउँछ ।” यतिन्जेल म चढेको बस भैरहवा स्थित बुद्ध चोकबाट लुम्बिनी तर्फ मोडिइ सकेको थियो ।


जनक तिवारी
गैंडाकोट–२, नवलपुर