काठमाडौँ ।
फरक क्षमताका युवाकवि मधुसुदन घिमिरेको कवितासङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजित एक कार्यक्रमका बिच पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा कवि उषा शेरचन, विप्लक प्रतीक, हेक प्रभास, साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले उक्त कवितासङ्ग्रह संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
पूर्व प्रम खनालले मधुसुदन घिमिरे दृष्टिविहिन भए पनि मनको आँखाले सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने गरेको बताए । उनले भने, ‘मधुसुदन घिमिरे दृष्टिविहिन भएर पनि सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने क्षमता छ । उहाँले लेखेको हरेक कवितामा मर्म लुकेको छ । यस्ता कविताहरु धेरै धेरै लेख्न र नेपाली साहित्यका सबै विधामा योगदान गर्न पनि शुभकामना गर्न चाहन्छु ।’
कार्यक्रममा कवि हेम प्रभासले धेरै पछि एक सुन्दर कृति पढ्न पाएको बताउँदै ‘मायाको आयतन’ कविताप्रति गम्भीर अनुराग हुनेहरूले पढ्नै पर्ने सङ्ग्रह रहेको बताए । त्यस्तै, कवि उषा शेरचनले शुभकामना मन्तव्यका साथमा कवि घिमिरेको सम्मानस्वरूप २ कविता वाचन गरेर सुनाइन् ।
सङ्ग्रहमा प्रेम सम्बन्धका विविध आयमहरुमाथि लेखिएका कविताहरुको बाहुल्यता रहेको छ । साथै, समाजिक समस्या, देश तथा युवाहरुको वर्तमान अवस्थालयात विषयहरुलाई समेत कविताहरुले प्रतिनिधित्व गरेका छन् ।१२५ थान छोटा आयतनका कविताहरु सङ्ग्रहित यो कवितासङ्ग्रहलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा रहेका कविताहरूसँगै चित्रहरूसमेत रहेका छन्, जसले अमूर्त रूपमा कवितालाई दृश्य दिएका छन् ।