• २०८१ कातिर्क २१ बुधबार

कवि माया गुरुङका तीन मुक्तक

माया गुरुङ

माया गुरुङ

आफ्नै बनी हिँड्छन् छान्नु पर्दा अरु छानिदिन्छन्
तिमी सही छौ भन्छन् मौकामा गलत मानिदिन्छन्
झूट्टो तारिफ ऐंचो पैंचो गर्ने स्वभाव छैन त्यसैले त
सही हुँदाहुँदै एक्लो पार्छन् र खुट्टा तानिदिन्छन् !

मनभरि पाखण्ड बोकी मुखले निसाफ गरिरहन्छन्
छातीमा सिउँडी रोपी मायाको किताब पढिरहन्छन्
हरे दायाँ आँखाले स्नेह वर्षाउँदा बायाँ आँखाले भने
आफ्नै नाफा ( नोक्सानको भकारी नै भरिरहन्छन् !

दिनरात जीवनभर स्वार्थमा लागिरहेका छौँ
आखिर हामी के का पछि भागिरहेका छौँ  ?
अहिंसाको प्रतीक बुद्धको देशबासीहरू हरे !
तेरो र मेरो’ को पर्खाल मात्र नाँघिरहेका छौँ !


माया गुरुङ, सिरुबारी पञ्चमूल, हाल वेलायत