• २०८१ माघ १ मङ्गलबार

नौ स्रष्टालाई आँचल साहित्य कला पुञ्जको सम्मान

मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न विधाका ९ स्रष्टाहरुलाई सम्मान गरेको छ। शनिबार हेटौँडामा आयोजना गरिएको वृहत् साहित्यिक तथा साँस्कृतिक समारोहबिच स्रष्टाहरुलाई नगदसहित सम्मान गरिएको हो । समाजसेवी हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गरेको १० हजार नगद राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानबाट रौतहटकी रेणुका जीसीलाई सम्मान गरिएको आँचलकी अध्यक्ष भावना सापकोटाले जानकारी गराइन् ।

यस्तै साहित्यकार मुना अर्यालद्वारा स्थापना गरिएको १० हजार नगद राशिको प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोटकी सुमित्रा सुमी तथा अप्सरा तिमल्सिना लम्साल र प्रकाश लम्सालले स्थापना गरेका ७ हजार ५ सय नगद राशिको इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान पत्रकार सरिता दहाललाई प्रदान गरियो । साहित्यकार रुकु कार्कीले स्थापना गरेको ११ हजार १११ नगद राशिको टीकादत्त मायादेवी कुलकुमारी सम्मान काठमाडौंकी प्रभा बराललाई प्रदान गरिएको छ ।

यसैगरी गंगाधर तिमल्सिना र यशोधरा तिमल्सिनाले स्थापना गरेको १५ हजार एक रुयैयाँको अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट काठमाडौंका नेत्र एटमलाई सम्मान गरिएको छ भने शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेको ३ हजार ५ सय रुपैयाँ नगद राशिको मंगलादेवी श्रेष्ठ स्मृति बाल प्रतिभा साहित्य सम्मानबाट मकवानपुरकी प्रसिद्धि लामिछाने एवं साहित्य अनुरागी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेको ५ हजार रुपैयाँ नगद राशिको मुक्तितारा नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँलाई सम्मान गरिएको छ ।

यस्तै, यस वर्षको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० मकवानपुरका साहित्यकार दीपक गौतमलाई प्रदान गरिएको छ। चन्द्रकिरण श्रेष्ठ र मेनुका श्रेष्ठले स्थापना गरेको यो पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्जले स्थापना गरेको आँचल साहित्य सम्मान २०८० बाट हरिवंश भेटवाललाई सम्मान गरिएको छ ।

आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानित साहित्यकारहरुले रचना वाचन गर्नुका साथै समकालीन नेपाली साहित्यमा लैंगिक चेतसम्बन्धी बहसका साथै अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगिता समेत सम्पन्न गरिएको छ ।