कविता-हिन्दी

गैँडाकोटबाट पठन संस्कृति अभियान शुभारम्भ भएको छ । प्रसिद्ध कवि एवं लेखक नवराज लम्साल र सञ्चारकर्मी दिलभूषण पाठकले पठन संस्कृति अभियानको उद्घाटन गरेका हुन । डिजिटल युगले मानिसलाई असामाजिक र एकोहोरो बनाउँदै लगेको अवस्थामा किताबको संगतले मानिसलाई सामाजिक बनाउन सहयोग पुग्ने अभियानका संयोजक त्रिलोचन सापकोटाले दाबी गरे। समूह बनाएर नियमित रूपमा किताब पढ्ने र सँगै बसेर छलफल, विमर्श गर्ने अभियानको योजना रहेको उनको भनाइ छ । शुभारम्भ कार्यक्रमलाई सापकोटा आफैँले सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. नवराज लम्सालले सूचनामूलकभन्दा पनि ज्ञानबर्धक पुस्तक पढ्न सुझाव दिए । सूचना मात्र दिने पुस्तकहरूबाट हुन सक्ने खतराबाट पाठक सधैँ सजग रहनुपर्ने लम्सालले बताए । ‘आफू शून्य भएर पुस्तक पढ्न सुरुवात गर्नुपर्दछ । आफूभित्र भएको विचारलाई दिल र दिमागबाट निकालेर नयाँ विचार र ज्ञान लिन सक्ने क्षमता लेखक र पाठक दुवैमा हुन जरुरी रहेको छ । लेखकको आफ्नो निजी विचारले भरिएको पुस्तकबाट पाठक सचेत रहन जरुरी छ,’ लम्सालको सुझाव छ ।
सञ्चारकर्मी पाठकले नयाँ विचार निर्माण गर्नका लागि पठन संस्कृति आवश्यक भएको बताए । विश्वव्यापीकरणको समयमा विचार आयात मात्र नभएर निर्यात पनि गर्न आवश्यक भएको उनले बताए। सञ्चारमाध्यमको उदाहरण दिँदै पाठकले भने, ‘बिबिसीजस्ता मिडियाले तेस्रो विश्वको गरिबी, अशिक्षा, हिंसा, विभेदलाई मात्र प्रसारण गर्ने गरेको समयमा अलजजिरा, भारतीय चलचित्र, सञ्चारमाध्यमले यहाँका सकारात्मक समाचारलाई विश्वमाझ सम्प्रेषण गर्न सुरु गरेका छन् । आफ्नो समाज र आफ्नो दर्शनको राम्रा पक्ष अरू माझ पुरयाउनका लागि सबैभन्दा पहिला पठन संस्कृतिको नै विकास गर्नुपर्दछ ।’