• २०८२ आश्विन ७, मंगलवार

लता के.सी.का दुई लघुकथा

लता के.सी.

लता के.सी.

१. स्वप्नलोक

दिनभरि जोताइले थाकेको शरीर लिएर ऊ ओछ्यानमा पल्टियो । भित्तामा उसले एउटा स्वीच जस्तो देख्यो । के रहेछ ? भन्नेजस्तो लागेर थिच्यो । थिच्नासाथ ऊ एउटा अलौकिक दुनियाँमा पुग्यो । ऊ खुसी हुँदै गम्न थाल्यो, आहा ! कत्ति सुन्दर र शान्त ठाउँ रहेछ । न त हाकिमको हप्की, न त स्वास्नीको कचकच ! छोराछोरीको तनाव पनि नहुने रहेछ । उसलाई अनौठो लाग्यो, सबै जीवहरू पखेटाको सहाराले उडिरहेका थिए । ऊ आफू पनि उडिरहेको महसुस गर्यो । मनमनै आफैलाई भन्यो, यसरी सबैले उडने हो भने त यातायात खर्च, अशान्त र कोलाहल बेहोर्नु पर्दैनथ्यो ! अकस्मात् उसको नजिक एउटा प्राणी आयो र सोध्यो, तिमी को हौँ ? उसले जवाफ फर्कायो, म पृथ्वीलोकमा मान्छेबाट आजित भएको मान्छे हुँ । यहाँको वातावरण मलाई औँधी नै मन पर्यो । अबदेखि म पनि यतै बस्न चाहान्छु । मैले के गर्नु पर्छ ?  आफ्नो लोक स्याहार्न नसकेर तिमीलाई हाम्रो शरणार्थी बनेर बस्न लाज लाग्दैन ? अहिले नै गइहाल । भन्दै त्यो प्राणीले उसलाई हकार्यो र धकेलिदियो । ऊ झसङ्ग झस्कियो अनि बेस्सरी रून थाल्यो ।
………

२. स्पर्श

ऊ बेला त म पनि कहाँ यस्तो थिएँ त ? आकासको तारा झार्थे नि ! बाबु ! भिडियो कलमा बाउले निकै फुर्ति लगाए । छोरा फिस्स हाँस्यो र भन्यो, उहिलेका कुरा खुइलिए बा ! अब त एक्लै बस्न गाह्रो भएन र ?  खुइय… गर्दै  के गर्नु र गाह्रो साह्रो जे भए नि ! तँ जस्ता छोराछोरी सबै विदेश नपसी हाम्रा मुखमा माड लाग्ने होइन ? काम गर्ने मान्छे राख्ने त ? उसले सोध्यो । उसले नै केही गर्ला कि ? भन्ने पीर बोक्दिनँ, बाबु । हात खुट्टा चल्दैछन् । भो, बुढा बाउको पीर नगर् । छोराले सम्झायो, आमा भएको भए माटालाई ढुङगाको भर, ढुङगालाई माटाको भएझैँ हुन्थ्यो । यतै विदेश आउने व्यबस्था मिलाउँछु त ?  उनले टाउको हल्लाएर परेन भनेर संकेत गरे । उसले फेरि चिन्तित भावमा भन्यो, राम्रो बृद्धाश्रममा सरौँ त बा ? उनले हकारे, भो, घर छाडने कुरा नगर् बा ! उसले हाँस्दै सोध्यो, किन र बा, यो उमेरमा त्यो झुपडीको चै यति बिध्न माया लागेको नि ? उज्यालो अनुहार लाउँदै बाले भने, घरका कोठा चोटामा तेरी आमाको स्पर्श छ नि त, बाबु !


लता के. सी.
तीनकुने, काठमाडौँ