• २०८१ चैत ७ शुक्रबार

हेटौँडामा बृहत् गजल उत्सव सम्पन्न

गजल मञ्च मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत् गजल उत्सव आयोजना भएको छ । उत्सवअन्तर्गत गजलवाचन, गायन र गजलका विषयमा बहस गरिएको छ । ‘नेपाली गजल: यात्रा र गन्तव्य’ विषयमा गजलकारहरू घनेन्द्र ओझा, बाबु त्रिपाठी र शीतल कादम्बिनीले बहस गरेका थिए ।

बहसका क्रममा गजलकार ओझाले गजल लेख्दा यसको उर्दू र फारसीबाट आएको नियमलाई लत्याएर अगाडि बढ्न नसकिने धारणा राखे । उनले गजलका नियम पालना नहुँदा कतिपय नेपाली भाषामा लेखिएका गजलहरू सुन्दर रचना मात्रै भएको टिप्पणी गरे ।

गजलकार बाबु त्रिपाठी र शीतल कादम्बिनीले अर्का गजलकार ओझाको विचारभन्दा फरक ढंगबाट नेपाली गजल लेखनलाई स्वच्छन्द रूपमा छोड्नुपर्ने बताए । उनीहरूले नेपाली गजल लेखनलाई नै नयाँ मानकका रूपमा विकास गर्न सकिने उल्लेख गरे ।