• २०८१ माघ ११ शुक्रबार

पुल छेउका कर्ण

कैलास कुमार पाण्डेय

कैलास कुमार पाण्डेय

बागमती पुलको छेउ
एउटा कर्ण रूँदै गरेको देखियो
प्लाउडको बाकसमा न्यानो पारी
चील,कौवाले सितिमिति
लैजान नसक्के गरि
कुण्डल,कवच जत्तिकै सुरक्षित
राख्दा नदेख्ने र पछि सबैले
देख्ने गरि राखिएको थियो ।

म अधिरथ भने थिएन
राधाको चाहनाका लागि लैजाने
ठुलो समाजसेवी पनि होइन
अनाथ जम्मा गरि डलर बटुल्ने
मानविय कर्तव्य लाग्यो
पुलिस बोलाए
अधिरथ,राधा पनि थाहा भएन
द्रोणगुरूको तिरस्कार
परशुरामजी संगको शिक्षा
राधेयको बाँकी जीवन
राधेय,अंगराज बनेको यावत
जानकारी भएन ।

मनमनै इर्ष्या पलायो
सुर्य र कुन्तीकाप्रति
आदिदेव, पुजनीय, वन्दनीय
सुर्यबाट यस्तो गल्ती भएन होला ?
पञ्चकन्यामा पुजनिय, स्मरणिय कुन्ती
क्रुर,दानविय स्वभाव कि
नहुनु पर्थ्यो ।
महाभारत रचना गर्दा
प्रयोग भएका पात्र
मध्यप्रदेशको राजघरानाका
केटाकेटीको रोमान्सको कथा हुनु पर्छ ।

कैयौं कर्ण हरेक दिन
नदीमा बगाइन्छन ।
कैयौं राधा, अधिरथ
सन्तानकालागि तडपि रहेका छन।
कैयौ कुन्ती कुमारी आमा बनेकि छन् ।
कैयौ सुर्य र कुन्ती यसै गरि
अवैध सन्तान जन्माउँदै बगाउँदै छन् ।
जन्मकथाले केहि फरक पार्दैन सायद
यसै प्रकृतिका ब्यास भगवान भए ।

टेष्टट्युव होउन वा कृतिम गर्भाधान
वैध नै मानिन्छन् ।
हुँदाहुँदा सेरोगेट मदरको
कुरा आइसकेको छ
त्यो पनि स्विकार्य नै हुन्छ होला ।
गाउँको घटना भए
तीलको पहाड बन्थ्यो
काटाकाट, मारामार चल्थ्यो
पानी बारावार हुन्थ्यो
मुद्दा, मामिला, पुलिस, प्रशासन, अड्डा, अदालत
भएको हुन्थ्यो होला
जबरजस्ति,बलात्कारको केश बनि सक्थ्यो
शहर भएकाले
नदी किनारले बाटो प्रसस्त गरयो ।

लिभिङ्ग टुगेदरमा बसुन
केटा साथी, केटी साथी बनाउन
पर्खाल नाघी झ्यालबाट भित्र पसुन
होटल तथा कोठा चोटा प्रयोग गरून
दिने परिणाम यस्तै हो
जन्मिने भनेको कर्ण नै हुन ।

धेरै ब्यासहरू
धेरै कर्णहरू
पहिचान नपाई छटपटाई रहेका छन ।
धृतराष्ट्र, पाण्डु, विदुरको
जन्म कथा होस
गृवाणयुद्धको
विधवा ब्राह्मणी विवाह होस्
राजघरनाका कुरा हुन ।

आज धेरै अस्पतालहरू
भ्रूणहत्याका केन्द्र बनेका छन ।
अनाथालयहरू
अधिरथको घर भएका छन्
हुँदाहुँदै दिनदिनै जन्मिन्छन्
नदी किनारामा
पुल छेउ पुगेका कर्णहरू ।


कैलास कुमार पाण्डेय