• २०८१ श्रावाण ११ शुक्रबार

शहर बहुलायो

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

मान्छे बौलाएको ठान्थेँ
हैन रैछ
शहर पो बहुलायो
गाउँ घरतिर स्याल कुकुर
बहुलाउँथे
मान्छे बहुलाउँथे
हुँदै गर्दा शहर बहुलाएछ ।

मान्छेले उचाले
ढुङ्गामुडा बहुलाउँछ भन्थे
हो रैछ शहर बहुलायो
आफैँमा सुस्त मनस्थिति थिएन होला
हरेक घटना परिघटनाका
अस्वभाविक व्यबहारले
पक्कै बहुलाएको जस्तो छ ।

अरुहरुमा गाउँ शहरको
बिभेद थियो नै
गाउँको कुकुर
गाउँको पागल
गाउँको पाखे
शहर नै बहुलाए पछि त ?

सद्य हुन्थ्यो भने
मान्छेले मान्छे मार्ने थिएन
मान्छेले मान्छे बेच्ने थिएन
सडक मै अस्मिता लुटिन्थेन
फोहरी, कुरुप, दुर्गन्धित
हुन्थेन होला ।

शहरले क्रमशः
बिश्वास गुमायो
समवेदना गुमायो
मनस्थिति गुमाउन पुग्यो ।

आज शहर
गल्ली गल्लीमा
ठुला घरहरु हेर्दै
फोहरको डुङ्गुर नियाल्दै
हिलो छ्याप्दै
फोहोर पानी पिउँदै
देला र खाउला भन्दै
रुँदै, कराउँदै
चोर्दै, लुटदै, गोलि ठोक्दै
दिन बिताइरहेको छ ।

गाउँ र शहरको
सहसम्बन्ध थियो
भातृत्व, मित्रता थियो
आड, भरोसा थियो
एकाएक भत्कियो
दम्भ,घमण्ड बढ्यो
पुर्वाग्रही बन्यो
निष्ठुरी ,क्रुर बन्यो
निवस्त्र नाङ्गो भयो
शहर बौलायो ।


कैलासकुमार पाण्डेय
परशुराम न पा १२ उनरुवा, डडेल्धुरा