समाचार

काठमाडौँ, २०८० पुस ।
नेपालको सबैभन्दा जेठो पत्रकारिता ‘साहित्यिक पत्रकारिता’ले भाषा र साहित्यको क्षेत्रमा पुरयाएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकबाट पहिलोपटक ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार ‘ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले “साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषासेवी र स्रष्टाहरूको बौद्धिक उत्पादनशाला हो । यो सबै तहतप्काको प्राज्ञिक खुराक हो । यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्नसक्नुपर्छ ” भन्नुभयो ।
बैठकले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। सातदशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल जेष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए ।अहिलेसम्म पनि निरन्तर रचना प्रकाशित भइरहेको छ ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँचदशकदेखि साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा २००८ साल वैशाखदेखि प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालमा आबद्ध रहनु भएको थियोे । उहाँ यसपछि ‘थौंकन्हे’को सम्पादक तथा प्रकाशक रहँदै आउनुभएको छ । यी दुवै पुरस्कारको राशि जनही ५०,००० र (पचास हजार) रुपैयाँ रहेको छ ।
उक्त पुरस्कार २०८० साल पुस २९ गते आइतवार दिनको ठिक १.०० बजे नेपाल प्रज्ञा-प्रतिष्ठानमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताउनुभयो ।