• २०८२ असार १८ बुधबार

अस्तित्वको भोगाइ ‘चिहानमाथि महल बनाइरहेको मान्छे’

काठमाडौँ- कवि घनश्याम अस्तित्वको कवितासङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ शनिबार थापागाउँस्थित कुञ्ज थिएटरमा विमोचन भएको छ। कार्यक्रममा कवि अस्तित्वसहित श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले संयुक्त रुपमा विमोचन गरेका हुन् । प्युठानमा जन्मिएका अस्तित्व हाल दाङमा शिक्षण पेशामा आवद्ध छन्। साठीको दशकको अन्त्यतिर कविता लेख्न थालेका अस्तित्व कथा, निबन्ध पनि लेख्छन् ।

तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर लेखिएको उक्त सङ्ग्रहमा ६६ शीर्षकका कविता छन् । कृतिमा राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटिएको छ ।

पुस्तकबारे समीक्षा गर्दै कवि श्यामल अधिकारीले स्थानीय भाषा र परिवेशअनुरुप फरक शैली शब्दचित्रमा उतारेको उल्लेख गरे । मानिसलाई आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको कवि अधिकारीले बताए । ‘कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतीकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ ।’,उनले भने ।

कवि राधिका कल्पितले कृतिले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र संघर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गरिन् । उनले सङग्रह कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो रहेको बताईन् । कविताले तत्कालीन द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको संघर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितको बुझाई थियो ।

यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गरे। कवितामा कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको टिप्पणी गरे ।टिप्पणीकर्ताहरुलाई धन्यवाद दिँदै लेखक घनश्याम अस्तित्वले विगतमा आफूले भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गरे। पुस्तक बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।