दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो ।
साहित्यकार श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार रूपैयाँ राशिको पुरस्कार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले हस्तान्तरण गरेका थिए । कार्यक्रममा साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाईसमेत सम्मान गरिएको थियो ।
छोराहरू शरदराज सुवेदी र रूपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा प्रतिष्ठान स्थापना गरेका हुन् । १५ लाख रूपैयाँको अक्षयकोष राखेर स्थापित प्रतिष्ठानबाट यसअघि ७ जना साहित्यकार र ७ जना पत्रकार पुरस्कृत भइसकेका छन् । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा भ्रष्टाचार मौलाएको बताएका थिए ।