• २०८२ आश्विन ७, मंगलवार

गिरीको ‘सुतेको समुद्र’ को चालिसौं वार्षिकोत्सव संस्करणको लोकार्पण

नेपाल स्रष्टा समाजले साहित्यकार गोविन्द गिरी प्रेरणाको पहिलो कथासङ्ग्रह ‘सुतेको समुद्र’ को चालिसौं वार्षिकोत्सव संस्करण लोकार्पण गरेको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’, प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठ, कथाकार किशोर पहाडी र स्रष्टा समाजका सदस्य मधु पाठकले कथासंग्रहको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा दयाराम श्रेष्ठले तिसको दशकदेखि लेखन कार्यमा सक्रिय कथाकार गिरीका कथाहरू लेखनशैली, विषयवस्तु र सन्देशको दृष्टिले निकै उत्कृष्ट रहेको बताए । कार्यक्रममा कथाकार तथा शब्दपथका किशोर पहाडीले कथाकार गोविन्द गिरीको बहुआयामिक व्यक्तिको चर्चा गरेका थिए । उनले कथाकार गिरी इमानदार, ऊर्जाशील र स्पष्ट भएको र उनका सबै सिर्जना उत्तिकै सशक्त रहेको पनि बताए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ ले सामाजिक सञ्जालमा लेखकहरू प्रशस्त देखापर्ने र छोटो समयमै चर्चामा आउन चाहनेहरूको भीडमा कथाकार गिरी निकै टाढा रहेको बताए । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ ले हरेक विधामा उत्तिकै सक्रिय, सबैमा उत्तिकै गुणात्मक लेखन भएको गिरी ‘सुतेको समुद्रका उठेका साहित्यकार’ भन्दै प्रशंसा गरेका थिए ।
कथाकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्राबारे प्रकाश पार्दै दोस्रो संस्करणमा जीवन आचार्यको आवरण कला छाप्न पाउँदा आफू ज्यादै भावुक भएको र स्रष्टा जीवन आचार्यप्रतिको संस्मरण ताजा रहेको बताए ।

कथा, कविता, उपन्यास, नियात्रा गरी कथाकार गिरीका ३ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ को स्वागत मन्तव्य तथा मधु पाठकको संचालन रहेको कार्यक्रममा अश्विनी कोइराला, राधेश्याम लेकाली, देविका तिमिल्सिना, शंकर भारती, पवन आलोक, शरद प्रधान, ममता मृदुल, जयदेव भट्टराई, डा. विप्लव ढकाल, सरिता खनाल, सञ्जय खतिवडा, ठाकुर बेल्बासे, डा।रमेश शुभेच्छु, कथाकार धर्मपत्नी अञ्जु गिरी, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो ।