पठन संस्कृति प्रवद्र्धनका लागि कार्यरत संस्था बालवाङ्मय तथा अनुसन्धान केन्द्रले बालसाहित्यमा योगदान पुर्याएका चार स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । केन्द्रले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना गरेको विशेष साहित्यिक कार्यक्रममा वरिष्ठ कलाकार टेकवीर मुखियालाई २५ हजार राशीसहितको साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान अर्पण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गीतकार, चलचित्र निर्देशक एवम् लेखक यादव खरेलले केन्द्रका तर्फबाट सम्मान अर्पण गरेका हुन् । यो सम्मान लेखक एवम् पत्रकार प्रमोद प्रधानले स्थापना गरेका हुन् ।
यसैगरी कलाकार के. के. कर्माचार्यबाट स्थापित के. के. बालवाङ्मय कला साधना सम्मान युवा कलाकार कृष्णगोपाल श्रेष्ठलाई प्रदान गरिएको छ । सम्मानमा १० हजार नगदसहित सम्मानपत्र रहेको छ । यसैगरी स्रष्टा रामकुमार पाँडेद्वारा स्थापित २० वर्षमुनिका लेखकका पुस्तकमध्येबाट उत्कृष्टलाई प्रदान गरिने राकुपा बालवाङ्मय पुरस्कार कक्षा ८ की छात्रा सोइना दाहालको कथासङ्ग्रह ‘कथाको खोजी’ का लागि प्रदान गरिएको छ ।
लेखक सिर्जना शर्माद्वारा स्थापित जयहिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार भने‘तनुजा’ किशोरलक्ष्यित कथासङ्ग्रहका लागि डा।जानुका पौडेल नेपाललाई प्रदान गरिएको छ । दुवै पुस्तक २०७९ सालका उत्कृष्ट पुस्तकका रूपमा चयन भएका हुन् भने दुवैमा १०/१० हजार नगदसहित प्रशंसा पत्र रहेको छ । पुरस्कार तथा सम्मान समर्पण गर्दै प्रमुख अतिथि खरेलले उपयुक्त पात्र चयनले ती सम्मान तथा पुरस्कारबाट पुरस्कार प्रदान गर्ने संस्था आफैं पुरस्कृत भएको बताउनु भयो । कार्यक्रममा कलाकार के. के. कर्माचार्यले सम्मानित कलाकारद्वय मुखिया र श्रेष्ठको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो भने प्रा। तारानिधि भट्टराईले पुरस्कृत पुस्तकहरूबारे चर्चा गर्नु भएको थियो ।
समारोहमा लेखक प्रमोद प्रधान, कलाकार कृष्णगोपाल श्रेष्ठ, पुरस्कृत कृतिका कृतिकारद्वय सोइना दाहाल तथा डा. जानुका पौडेल नेपालले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रका अध्यक्ष अनन्त वाग्लेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्ति सापकोटाले गर्नुभएको थियो ।