• २०८२ जेठ ३१ शुक्रबार

बूढा, घर जाऊँ !

धनराज गिरी

धनराज गिरी

“कसैले अलिकता फुर्क्यायो, उचाल्यो भने त्यसैलाई सत्य मानेर उचालिने र चंगा बनेर गगनमा पुगी मगन हुने, सबैलाई आफ्नो मान्ने चलन रहेछ, हजुरको, आफूलाई बाठो मान्नुहुन्छ दाजी, हजुर धेरै सोझो र लाटो मान्छे हो, मलाई यस्तै लाग्यो । धेरैले ठगेको कुरा थाहा पाएँ । मान्छे चिन्नुहोला मेरा भोला गजलकार दाजी ।” इन्द्रलोकबाट सपनामा यस्तो सन्देश आयो, एउटी देवीको, तनुजाजस्ती अनुजाको “प्रोफेसर बलराम सन्झोटे आनन्दले” मुस्कुराएर भन्यो, “हे सुभद्रा, मलाई ठगिइन देऊ, मलाई मूर्ख हुन देऊ, आफन्तहरुले मलाई यति अमीर देखे, लुटे । यो मेरो अहोभाग्य हो । उल्लू बनाए, यो पनि भाग्यमा लेखेर ल्याएको रहेछ । नियति नै यस्तै छ त के गरौं ? सरलता र सज्जनतालाई जीवनपद्धति बनाएपछि केही न केही असजिला कुराहरु भोग्नैपर्दछ । इमान्दारी महङ्गो सौख हो । मानवता र विवेकलाई सहयात्री बनाएकोछु, म, यो तिम्रो दाइ, पेफेसर जगमोहन आजादको मितवा, आफ्नै नजरबाट एक इन्च पनि तल झरेको छैन । त्यस्तो काम गरेको छैन । म खुशी छु, सुखी छु, अनन्त तनावहरुलाई परास्त गरेर यहाँसम्म आएको हुँ ।” “लौ, दाजी, यो बैनीले आफ्नो धर्म निर्वाह गरी, लागेको कुरा, देखेको कुरा भनी, आगे हजुरको मर्जी । “सपनामा आएकी अनुजा कल्पनालोकमा हराइन् । यथार्थ हो, भ्रम हो, सपना हो, अनुमान हो । बलराम र कृष्ण आफैं बनेर “सुभद्रा” लाई आफ्नी दिवंगत अनुजा “केशवी” बनायो आनन्दले । आफ्ना मितहरू प्रोफेसर प्रीतम प्यारे, प्रोफेसर जगमोहन आजाद र प्रोफेसर ढुक्कनारायण चौधरीलाइृ संझियो । एउटा फोन आयो, चेलो आलोकनाथ लौरीघोलेको, वनवासबाट । “गुरुदेव, भोलि २ बजे गुरु आमा सहित पूजामा आउनुहुन हार्दिक परमादेश जारी गर्दछु ।” शेष काम बाँकी राखेर “सीताराम” बनी कमालपुरबाट आनन्द मालपुर पुग्यो । “लाख बत्ती” बाल्ने कर्म चालु । प्रोफेसरले चारजना आफन्तहरु पायो, गफ शुभारम्भ, शुभारम्भ शब्द आयो कि रत्नको रतन बनी प्रोफेसरको मन झलमल्ल हुन्छ । “सर आएपछि रमाइलो हुन्छ” एक जना मित्र, कृष्ण पराजुली । दामकुमार अर्यालले थपे, “हाम्रो संधीको सच्चा साथी हुनुहुन्छ कविजी, रमाइलो मान्छे, कुरा गर्न मात्र सिपालु होइन, पढाउन पनि दक्ष ।” तारीफ उद्योग शुरु भयो । प्रोफेसरको पालो आयो, “साथीहरू म एउटा यस्तो मान्छेको खोजीमा छु, जसले अरुको बारेमा होइन, आफ्नो बारेमा सत्य बोल्ने हिममत गरोस् । “राम्रो म” नामको “मल्टिपल माइलोमा” बाट मुक्त होस् । मैले देखिने जिन्दगी र भोगिने जिन्दगीको बीचमा आकाशजमिनको फरक पाएँ, गुण्डाभित्र सज्जन भलाद्मी पाएँ । मलाई धेरैले अर्ती उपदेश दिन आए, यसरी सम्झाएँ मानौं म भर्खर पातीघारीमा हलो फालेर प्रहरी वा फौजमा भर्ती हुन आएको अनपढ अल्लारे एउटा दूरदराजकोिि कशोर हुँ । गज्याङ गुजुङ उनीहरुको जीवनमा पनि छ । घरभित्र कुरुक्षेत्र छ । मनमा तुषानल छ, दावानल छ । अभिनय यस्तो गर्दछन् उनीहरु संपूर्ण सफल र सार्थक जीवन जिइरहेका छन् । कर्ण र कृष्णको संवाद नसुनेजस्तो लाग्यो । अलिकता नाम कमाए पनि घमण्ड, अलिकता दाम कामए पनि अहंकार, पद र नगदको मद झन् । कुरुप ! अरे साथी हो, यहीं, हाम्रा जमिन्दार जंगीलाल श्रेष्ठले पनि, जमानामा, तरकारीमा सुन हालेर खाँदैनथिए, तरकारीमा हाल्ने सुन होइन, नून हो । धनोष्मा किन ? ताज्जुब लाग्यो मलाई । दामकुमार अर्याल अघि सरे, “हे गजलकार महोदय मानिसहरु मानिस बन्नै सकेका छैनन् । कपडा लगाउनै प¥यो । ढाकछोप नै इज्जत हो, दामकुमार, रामकुमार, ढुंगाना, अर्याल, अधिकारी, पुरी, गिरी, दशनामी, सत्रनामी, दामी सबैको हालत उही हो । साथी, साझेदारीमा काम गरियो, बोर्डिङ स्कूलमा लगानी गरियो, पत्नीसित संबन्ध बिग्रियो, छोराछोरी वा आफन्तलाई सुधार गृहमा राख्न प¥यो, परिवारका कुनै सदस्यले “हाराकिरी” गर्न विवश भयो, ससुराली, मावली, साली, रक्तसंबन्धहरुमा कतै केही गडबड भयो भने पनि जीवन ध्वस्त हुन्छ, मानसिक रुपमा । सामान्य सन्तुलन कायम हुन धेरै गाह्रो हुन्छ । बैंकको ब्याजको कारोबार छ भने काण्ड पुग्यो । बाहिर कारमा सररर, बैंकमा ऋण बढे थररर ! यथार्थ, शाश्वत सत्य, यो दुनियाँमा चैन त चैनपुरमा पनि छैन । सबै बेचैन । झुपडीमाभन्दा महलमा तनाव बढी छ मान्यवर, आनन्द सर । दुनियाँ यस्तै हो । सत्य संभाषित हुन्न ।” गफको आफ्नै रफ्तार थियो । अचानक कहानीले नयाँ मोड लियो । कथामा प्रोफेसरकी गृहलक्ष्मीको प्रवेश भयो । “बूढा, घर जाऊँ ।” उनको परमादेश । करुणामयी, कल्याणी, “गौरी आरोही” प्रोफेसरकी जीवनसंगिनीको अनुरोध अमल भयो ।” लौ त साथी हो, आजको वार्ता यत्ति नै । उहाँको आदेश स्वदेश वा विदेश जहाँ रहे पनि मेरा लागि परमादेश, मान्नैपर्र्छ । आजलाई सायोनारा !” बाइकमा मालपुरबाट कमालपुर, बैकुण्ठनगरतिर प्रस्थान, उत्तर आधुनिक लीला गर्ने जोडीको । बाटोमा, “बुढा, मैले किन हहजुरलाई घर जाऊँ भनेकी थाहा छ ?” आरोही, नरम भएर । “भन न प्यारी, तिम्रो मनको कुरा कसरी थाहा पाऊँ ? म देवकीनन्दन होइन, मुक्तिनन्दन र हरिनन्दनको दाइृ मात्र हुँ । संजय होइन । डा. संजय चौधरीको गुरु मात्र हुँ । मनको कुरा भन प्राणेश्वरी ।” “हे सोझा बूढा, बोल्न थालेपछि हजुर धोती खुस्केको पनि थाहा पाउनुहुन्न । उकासो र पिकासोको फेला पर्नुहुन्छ । यी मान्छेहरु, मादा चोट्टा, चतुर, हजुरको मनको कुरा धुत्ने, अनि हजुरको धज्जी उडाउने अरे । हजुरको हालत पनि त्यस्तै हुन्छ । किन बोल्ने ? किन लेख्ने ? ठेकेदार हो र हजुर ? दुनियाँलाई खुशी पार्न सक्नुहुन्छ ? मूर्ख हो र मेरो जीवनसाथी ?” आरोहीको गुनासो जायज । “प्यारी यो मादा भनेको के हो?“ मासु र दारुमा बिक्ने कलम, सामुन्नेमा भन्न भएन । के गरुन्, रामशाहहरु द्रव्यशाहको गुलाम हुन विवश ।” “सोझी भनेको मेरी जीवनसंगिनीलाई पनि जिन्दगीले धेरै पढाएछ ।” मनमनै अनेक सोच्यो प्रोफेसरले । घर पुगे जोडी । सबैकुरा छोडीी आनन्द सामाजिक संजालमा भिड्यो । “होइन, आज कता हो प्रोफेसर साहेब ? पोस्ट त आज जम्मा २५ मात्र, ३६ नपुर्याउने ? कलङ्कीको कटाक्ष । मुस्कुरायो आनन्द ।