• २०८२ असार २४ मङ्गलबार

साङ्ग्रिला द्वारा ‘म प्रधानमन्त्री बन्न सक्छु ?’ पुस्तक प्रकाशित

साङ्ग्रिला मिडिया ग्रुपले बालबालिकालाई नेपालका प्रधानमन्त्रीको भूमिकाबारे परिचयात्मक जानकारी दिने पुस्तक “म प्रधानमन्त्री बन्न सक्छु ?” प्रकाशित गरेको छ । पुस्तकमा बालबालिकालाई अधिकार र कर्तव्य बुझाउँदै नेपालमा प्रधानमन्त्रीको चयनदेखि प्रधानमन्त्री कहाँ बस्छन् र के काम गर्छन्, प्रधानमन्त्रीको तलब जस्ता विषय पनि समेटिएको छ । साथै, पुस्तकले संघीय व्यवस्था, लोकतन्त्रका लागि भएका आन्दोलन, राज्यका अंगहरु, संसद र सांसदको काम, संविधान, नागरिकप्रतिको जवाफदेहिता लगायतका विषयमा सरल र सरस भाषामा जानकारी दिन्छ ।

प्राथमिक तहका बालबालिकाका लागि प्रकाशित यस पुस्तकलाई भूमि घिमिरे र कर्मा तामाङले लेखेका हुन् । लेखक आन्विका गिरीले सम्पादन गरेको यस पुस्तकमा अनामिका गौतमले चित्र बनाएकी हुन् । अभिभावक तथा शिक्षकको सहयोगले पूर्वप्राथमिक तहका बालिबालिकाले समेत यस पुस्तकबाट लाभ लिन सक्नेछन् ।

किताबकी एक लेखक भूमि घिमिरे सामन्ती सोचबाट नेपाली समाज गुज्रिरहेकाले सरकारलाई प्रश्न गर्ने, जवाफदेही बनाउने र बालबालिकालाई स्वतन्त्र राजनीतिको चेत हुने संस्कृति बसोस् भन्ने उद्देश्यले यो पुस्तक लेखेको बताउँछिन् । सामन्ती सोचले लोकतन्त्रको अभ्यास गर्नबाट रोक्ने उनको स्वअनुभवले पनि बालबालिकामा सानैदेखि यसबारे जानकारी रहोस् भन्ने कुराले उनलाई पुस्तक लेख्न प्रेरित गरेको हो । साथै, उनी राज्य संचालन र यसका अवयवहरुबारे पनि बालबालिकालाई थाहा दिनु जरुरी ठान्छिन् । राज्यले कसरी काम गर्छ र कसरी काम गर्नुपर्ने हो भन्न कुरा बालबालिकाका लागि रहस्यमय नहोस् र उनीहरुले सानैदेखि त्यसबारे अध्ययन गर्ने सामग्री पाउन् भनेर आफूले यो पुस्तक लेखेको भूमिको भनाइ छ ।

अर्की लेखक कर्मा तामाङ विवेकशील पार्टीसँगको १० बर्से अनुभवमा नेपालीले राजनीतिक गफ धेरै गरे पनि राजनीतिक चेतना भने विकसित नभएको बताउँदै बालबालिकालाई सानै उमेरदेखि नै राजनीति र समाजबारे सूसुचित गराउन आफूले यो पुस्तक लेखेको बताउँछिन् । उनको अनुभवमा धेरै नेपाली पैसा कमाउने वा पद पाउने उद्देश्यले राजनीतिक दलमा लाग्छन् र कुनै राजनीतिक विचारधारा वा दललाई पछ्याउनु नै राजनीतिक चेत भएको भन्ने सोच्छन् । तर, राजनीतिक चेतना भनेको राजनीतिक इतिहास र राजनीतिक संरचनाबारे जानकारी हुनु, अधिकार थाहा हुनु, जिम्मेवारी पूरा गर्नु र राजनीतिक निर्णयले व्यक्ति र समुदायलाई पर्ने असरबारे थाहा हुनु पनि हो भन्ने उनको बुझाइ छ । यिनै कुराहरु बालबालिकाले सिक्न, बुझ्न र छलफल गर्न सकुन् भनेर आफूले यस पुस्तक लेखेको कर्माको भनाइ छ । नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित यस पुस्तकले बालबालिकालाई भाषा सिक्न पनि मद्दत गर्ने उनको विश्वास छ ।

लेखकद्वयले यो पुस्तक धेरैभन्दा धेरै बालबालिकाको हातमा पुगोस् भन्ने हेतुले शिक्षा तथा बालबालिकाको क्षेत्रमा काम गरिररहेका व्यक्ति तथा संस्थालाई यो पुस्तक वितरण गरिदिन पनि अपिल गरेका छन् । यस सम्बन्धि विस्तृत जानकारी https: www.karmatamang.com मा उपलब्ध छ । हालसम्म करिब सय पुस्तक लेखकद्वयले विभिन्न विद्यालय तथा समुदायमा वितरण गरिसकेका छन् ।

यस पुस्तकले बालबालिकालाई नेतृत्व लिन प्रेरित गर्नका साथै हाम्रो देशको राजनीति र समाजबारे जानकारी दिने प्रकाशकले विश्वास लिएको छ । रङ्गिन चित्रमय पुस्तकको मूल्य रु ५०० रहेको छ ।