• २०८१ बैशाख १६ आइतबार

निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ सार्वजनिक

काठमाडौं ।

कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समीक्षक राजकुमार बानियाँ, निबन्धकारद्वय रोशन शेरचन र कुमारी लामाले पुस्तक विमोचन गरे ।

पूर्वकुलपति काइँलाले थाम्सुहाङले १७ थुम नलेखेर किन शब्दथुम लेखे भनेर आफूलाई जिज्ञासा लागेको भन्दै ठट्टा गरे । अरुणपूर्व र मेचीवारि पहिल्यै १७ थुम थिए, तिनै थुमबाट शासन–प्रशासन सञ्चालन हुन्थे । ‘शब्द भनेकै ब्रह्म र ब्रह्म भनेकै शब्द हुन्,’ उनले भने, ‘थुम भनेको लिम्बूमा कडा वा अप्ठेरो भन्ने हुन्छ । शब्दथुम शब्दको ब्रह्म जस्तो पो लाग्यो ।’ लेखकले बुबा ‘लुङ्माहिम साइँला’ का बारेमा मोहक निबन्ध लेखेको काइँलाले बताए ।

‘गद्य लेखनमा थाम्सुहाङको सामर्थ्यको अनुमान गर्न सक्छौं,’ उनले भने, ‘गद्य शैली मिठो र लोभलाग्दो छ । लेखकले दर्शन र चिन्तनमा आफ्नो मत जाहेर गरेका छन् ।’ निबन्धको भाषा सहज र गहकिलो भएकाले पाठकलाई पढ्न सजिलो हुने उनले बताए । सानो प्रयासलाई कसैले नगन्ने समयमा लेखकले सानो ठाउँबाट उठेका सांस्कृतिक आन्दोलनलाई लेखेकामा उनले प्रशंसा गरे ।