• २०८२ असार २९ आइतबार

समयको मृत्यु

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

चारैतिर समबेदनाको ओइरो छ
सबैमा एक किसिमको चिन्ता मिसिएको छ
शवयात्राको क्षण रमाइलो त कसले मान्ला र
एक हुल मान्छे मलामी जान
शव यात्राको बाटो कुरी बसेका छन्
दिवंगत हुनु भएको को ?
भनि सोध्नु हरेक को कर्तव्य हुन्छ रे
जिउँदो जन्ती मरे मलामी संस्कृति पनि हो
सोध्छन् शवयात्रा कसको ?
उत्तर आउछ समयको
समय बलवान छ
अजेय, अमर छ
हुनै सक्दैन समयको देहावासन
जे भनिदैछ सरासर झुट भनिंदैछ
यहा भ्रम छरिंदै छ
कसरी हुन्छ समयको मृत्यु
नचाहिने वाहियात कुराको भ्रम छरिएको हो
होइन रैछ भ्रम
साच्चिकै हो रैछ
बाटाको लाम पुगी सक्यो
टीलो बोकी आउने पुगिसके
शंख नाद सुनिंदैछ
समय घर्किँदो छ
समय काटिदो रहेछ
समय बित्दो रहेछ
समय सकिँदो रहेछ
समय चुक्दो रहेछ
समय मर्दो रहेछ
समय छँदा समय
स्वभाविक रुपमा
वलवान थियो नै
त्यसैमा पक्षपाती थियो
समय अन्धो पनि थियो
समय पूर्वाग्रही थियो
समय जिस्क्याउथ्यो
समय बदला लिन्थ्यो
समय सघाउंथ्यो पनि
हरेक अवस्थाको सुचना दिन्थ्यो
समय परिस्थिति
अनुकूल प्रतिकूल हुने गर्थ्यो
समय सचेत गराउँथ्यो
समयको माग अनुरूप
चल्न सिकाउँथ्यो
हरेक मुहुर्त समय चुकेको हुन्छ
हरेक पल समय बितेको हुन्छ
एउटा समय सकिएर अर्को उदाएको हुन्छ
हामी चुक्यौं
समय हामीबाट गयो
समयको गतिलाई बुझ्न सकेनौ
समय हामी बीच रहेन
समयसंग भएको उन्नति प्रगतिलाई
आत्मसात गर्न सकेनौं र पिछडियौं
समयसंग चलन सकेको भए
समयको प्रवाह बुझ्न सकेको भए
समयानुकूल बन्न सके
धेरै हुन सक्थ्यो तर
समय हामी बीच रहेन
पश्चाताप छ
केवल सहानुभूति र समवेदना बाँकी छ


कैलासकुमार पाण्डेय
परशुराम १२ लालढुङ्गा, डडेल्धुरा