असोज, काठमाडौँ, अनेसास नेपाल च्याप्टरले साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ अनामनगर सामाजिक विकास समाजको सभाकक्षमा आयोजित एक कार्यक्रममा नेपाली साहित्य समाज(अनेसास) का अध्यक्ष गोवर्धन पूजासँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरिएको हो । त्यस अवसरमा पूजालाई नेपाल च्याप्टरद्वारा सम्मान गरिएको थियो ।
नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. को सभापतित्व तथा डा.खगेन्द्र लुईँटेल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय महासचिव विमला निरौला लगायत नेपाल च्याप्टरकी निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, डा. रेणुका थापा सोलु, डा. अम्बरकुमार कार्की, अम्बिका गुरुङ्ग लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा आजीवन सदस्य प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजाले समाजमा २५०० जना सदस्य संख्या पुगेको,आजीवन सदस्य संख्या ७०० जना रहेको, आफ्नो कार्यकालको चौध महिनामा १००० जनालाई परिचय–पत्र वितरण गर्ने लक्ष्य रहेको कुरा बताउँदै केन्द्रले बालबालिकाका लागि भाषा पाठशाला स्थापना गर्न आवश्यक कदम चालेको, अन्तर्राष्ट्रिय बालकविता गोष्ठीको आयोजना गर्ने योजना रहेको र हालै मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय कवि गोष्ठी सम्पन्न गरेको कुरा बताए ।
त्यसैगरी उनले नेपालमा रहेका साहित्यकारहरूका लागि स्वास्थ्य उपचारको अभाव नहोस् भनेर पाँच लाखको अक्षयकोष स्थापना गर्न लागेको कुरा पनि बताए । कार्यक्रममा प्रमुख अतिथि डा. खगेन्द्र लुईँटेल, विमला निरौला, रेणुका थापा सोलु र सन्ध्या पहाडीले शुभकामना मन्तव्य राखेका थिए भने नेपाल च्याप्टर उपाध्यक्ष निर्मल रमण पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।
सोही अवसरमा प्रमोद सारङद्वारा लिखित हाइकु सङ्ग्रह असर्फी को विमोचन गरिएको थियो भने राष्ट्रकवि घिमिरेको जन्मजयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार विजेता सुन्दर शिरिषलाई नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष मञ्जिला अनिलले गरेकी थिइन् ।