समाचार

काठमाडौँ ।
झापा, मोरङ, इलाम र पाँचथरका ३५ जना सेवानिवृत्त विद्यालय शिक्षकहरुले आफ्नो शैक्षिक यात्रा तथा विद्यार्थी, अभिभावक र समाजसँगको सम्बन्धलाई लिएर लेखिएका अनुभूतिको संग्रह ‘आकाशगंगा मुन्तिर’(हाम्रा जुनीभरको शैक्षिक यात्रा) प्रकाशनमा आएको छ ।
विशेषत विद्यालय शिक्षा र त्यसमा पनि सार्वजनिक शिक्षाको खस्कँदो स्थितिमाथि चौतर्फी बहस चलिरहेका बेला विधागत र विषयगत अनुभवमा भिन्न अनुभव राख्ने ३५ सेवानिवृत्त शिक्षकको भोगाइलाई एउटा पाठका रुपमा लिन सकिने भन्दै यो संग्रह प्रकाशन गरिएको कृतिका सम्पादक प्राध्यापक गोविन्दराज भट्टराईले बताएका छन् ।
झापा, दमकका शैक्षिक अग्रणीहरु छविलाल शर्मा सिटौला, पूर्णानन्द शर्मा, मेघराज तिमसिना र विष्णुलता प्रधानको योगदानलाई सम्झेर पूर्वी भेगमा चेतनाका संवाहकहरुले दिएको पछिल्लो आधा शताब्दीको योगदानलाई झलकका रुपमा कृतिमा समेटिएको छ ।
संग्रहका संयोजक एवं दमकस्थित प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईका अनुसार, एउटा सिंगो भेग, जिल्ला वा विद्यालयका निम्ति एउटा शिक्षकले सानो दियो बराबरको काम गरेको भएपनि त्यो मिहिन उज्यालो फैलँदै गएर शैक्षिक र प्राज्ञिक दुनियाँ तयार हुने भएकाले दियोको महत्त्व बुझाउन यो अभियान थालिएको बताए । ‘अहिले केही जिल्लाका सेवानिवृत्त शिक्षकको अनुभूति यसमा समेटिएको छ, अब पूरै कोशी प्रदेश र अन्यत्र पनि यो अनुभूतिजन्य कामले प्रश्रय पाउँदै जानेछ,’ संयोजक भट्टराईले भने ।
झापास्थित सेर्गेम प्रकाशन गृहले प्रकाशित गरेको कृतिमा शिक्षकका आफ्ना शैक्षिक अनुभूति र गर्न नसकेका, नपाएका कमजोरीलाई पनि आत्मसमीक्षाका रुपमा केलाइएको छ । ३५ सेवानिवृत्त शिक्षकमध्ये ५ जना महिला शिक्षकको अनुभूति कृतिमा छ ।