• २०८२ असार २१ शनिवार

किनारमा उभिएर

गोपालकुमार मैनाली

गोपालकुमार मैनाली

आदिम युगदेखि
निःवस्त्र लमतन्न तिम्रो कौमार्य
नीला वक्षस्थल पसारेर
नुनको पहाडजस्तै
विनास्वार्थ
धर्तीमा चमक भरिह्यौ ।

स्वीकारेर तमाम
आरोह–अवरोहरू
उछालेर छातिमा ज्वारभाटा
फैलनु र खुम्चिनुले सिर्जित
मधुर सङ्गीत भरिरह्यौ ।
बडेमानका त्रिशूलहरू स्वीकार्दै
बल्छीका तारहरूमा
तिम्रा आकाङ्क्षा अल्झायौ
जालहारीका जालका गोटीले
तिम्रा सपनाहरू थिलथिला बने
तिमी प्रतिकारविहीन
सबै स्वीकारेर
धर्ती बनिरह्यौ ।

तिम्रो न्यानो स्पर्श पाउन
नजिकै उभिएँ
र, लीलाहरू एकटकले हेरिरहेँ
चुम्न खोजेँ हरिया आँखाहरू
विश्वास भ्रम बनेर उड्यो आनन्तमा
पाउन सकिनँ न्यानो आलिङ्गन ।
किनारामा उभिएर
दूर क्षितिजसम्म तिमिलाई नियालेँ
तिमी हराइनौ, म हराएँ ।

म तिम्रो प्रतीक्षामा उभिइरहेँ
उपध्रो मच्चाउँदै
दौडेर आई तिमीले
लमतन्न शरीरमा काउकुति लगायौ
बालुवाका घरहरू तहसनहस पार्यौ ।
बिदाइमा मेरा पाउ ढोग्यौ
र, छुट्टियौ ।

मेरा पाइतालाको जमिन भासियो र म होचिएँ ।
तिमी पानी बनेर आग्लियौ र
विशालतामा फैलियौ
म पाषाण बनेर
किनारामा निःशब्द उभिइरहेँ ।


गोपालकुमार मैनाली