• २०८१ फागुन ६ मङ्गलबार

पुण्य न्यौपानेको ‘हिँडिएका पाइलाहरू’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

पूर्वप्रशासक पुण्य न्यौपानेले प्रशासन सेवामा गरिएका सुधार, अप्ठ्यारा र चुनौती समेटेर नयाँ पुस्तक सार्वजनिक गरेका छन् । निजामती सेवामा प्रवेश गरी विशिष्ट श्रेणी (सचिव) बाट निवृत्त भएका सिन्धुपाल्चोकका न्यौपानेले ‘हिँडिएका पाइलाहरू’ पुस्तक ल्याएका हुन्  ।

पुस्तकमा न्यौपानले एक दशक शिक्षक, तीन दशक निजामती प्रशासन र एक दशक स्टाफ कलेजमा सँगालेका अनुभवहरू उल्लेख गरेका छन् । साधारण पृष्ठभूमिको मानिस पनि मिहिनेत गरेको खण्डमा उच्च ओहदामा पुगेर मुलुकको सेवामा समर्पित हुन सम्भव हुन्छ भन्ने पुस्तकले सन्देश दिएको छ । आफ्नो प्रशासनिक अनुभवसँगै न्यौपानेको बाल्यकालका संघर्षका कथाहरूसमेत पुस्तकमा समावेश गरेका छन् । कुनै कामका लागि बाहिरी वातावरणभन्दा पनि इच्छाशक्ति ठूलो हुने न्यौपानेको अनुभव छ ।

साहित्यकार तथा प्रशासकहरू वामनप्रसाद न्यौपाने, शंकर कोइराला, सूर्यनाथ उपाध्याय र गौरी प्रधानलगायतले पुस्तकको अध्ययनले नेपालको निजामती प्रशासनका विषयमा धेरै कुरा बुझिने बताए । प्रशासनिक क्षेत्रको परिवेश र प्रवृत्तिका सन्दर्भ उल्लेख भएकाले निजामती सेवा र मुलकको नीति निर्माणका लागि पुस्तक निकै उपयोगी हुने उनीहरूको भनाइ छ । ‘हिँडिएका पाइलाहरू’ शब्दजालभन्दा पनि सरल भाषामा लेखिएको प्रशासनिक अनुभव र अनुभूति भएको उनीहरूको भनाइ छ । पुस्तक साहित्य पोस्टले प्रकाशन गरेको हो ।