• २०८१ माघ २७ आइतबार

प्रज्ञा–प्रतिष्ठानमा मातृभाषा साहित्य श्रृङ्खला सुरू

काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ । यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन नियमित रूपमा आयोजना गरिने भएको छ । यस क्रममा प्रज्ञा–प्रतिष्ठानका साहित्य( मातृभाषा) विभागका सदस्य तथा युनेस्कोका सहजकर्ता डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यसमा धिमाल जातिका मौलिक विशेषता र परम्पराहरू, आरोहअवरोह, अवस्था, पुस्तान्तरण, चलचित्र, गीतिसाहित्य, पत्रकारिता, लोककथा, लोकउखान, किंवदन्ति, कविता, गीत, नियात्रा आदि विधागत कृतिबारे कार्यपत्रमा उल्लेख गरिएको छ ।

यसअवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले “सबै जातजाति र समुदायका आआफ्नै भाषा छन् । तिनले बोल्ने सबै भाषा मातृभाषा हुन् । भाषामा विभेद झल्किने कुनै पनि मार्जिनको जरुरत छैन । कर्मकाण्डीयरूपमा वर्षमा एकचोटि मातृभाषा दिवस मनाइन्थ्यो । त्यस परम्पराको साटो मातृभाषाको संरक्षण र संवर्धान गर्ने उद्वेश्यले मातृभाषा साहित्य शृङ्खलाको सुरु गरिएको हो । यसले मातृभाषाका स्रष्टाहरूलाई उत्साहित र प्रोत्साहित गर्ने छ“ भन्नुभयो ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले “सबै जातजातिको मातृभाषा र साहित्य प्राण हो । यसको उत्थान र विकासमा लाग्न मातृभाषा साहित्य शृङ्खलाले उत्साह र हौसला थप्ने छ“ भन्नुभयो । यसै क्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यको क्रममा नेपाल बहुजातीय र बहुभाषी भएको देश हो । यहाँ भएका सम्पूर्ण मातृभाषाको संरक्षण र संवर्धन गर्ने दायित्व वहन गरेका छौँ । यसैअनुरूप मातृभाषा साहित्यको नियमित शृङ्खला सुरु गरेको बताउनुभयो ।

यसैगरी समापनका क्रममा मातृभाषा साहित्य शृङ्खलाका अध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख) राजन मुकारुङले “सबै भाषाका साहित्यिक स्रष्टाहरूले आआफ्नो स्वत्व आत्मसात् गर्नेगरी मातृभाषा साहित्य शृङ्खलाको प्रारम्भ गरिएको बताउनुभयो । उहाँले यसअघि प्रज्ञा–प्रतिष्ठानले फेब्ुअरी २१ मा पर्ने अन्तर्राष्ट्रिय मातृभाषा दिवस एकदिन मनाउने गर्दथ्यो । त्यस परम्पराको सट्टा विविध मातृभाषामा सिर्जना, संवाद र विमर्श गर्न लागेको कुरा प्राज्ञ मुकारुङले बताउनुभयो ।

यस्तै डा. सोमबहादुर धिमालद्वारा लिखित “धिमाल साहित्य“ विषयक कार्यपत्रमाथि प्राज्ञ सभा सदस्य डा.तारामणि राईले “धिमाल भाषाको साहित्य र संस्कृतिबारे सुपरिचित ता भयौँ तर कार्यपत्रलाई सापेक्षित रूपमा परिमार्जन गर्नु उपयुक्त हुने छ “ भन्ने पूरक टिप्पणी गर्नुभयो । यसैगरी प्रतापसिंह नाछिरिङ ,रामनारायण देव,लोचना मोक्तान,विक्रममणि त्रिपाठी , सन्ध्या पहाडी ,गणेशबहादुर घले,कमला शाक्य सृष्टि र प्रकाश वान्तवा लगायतले प्रस्तुत कार्यपत्रमाथि पूरक टिप्पणी गर्नुभयो ।

यसैक्रममा तीन कविले तीन भाषाका कविता कार्यक्रममा वाचन गर्नुभयो ।जसमा नेपाल सङ्गीत नाटय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य देवकुमार चौधरीले थारु भाषामा, अञ्जु राजवंशीले राजवंशी भाषामा र विनिता ताजपुरियाले ताजपुरिया भाषामा आआफ्नो कवितावाचन गर्नुभयो ।कार्यक्रमको सञ्चालन प्रज्ञा–प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख तथा कवि सन्ध्या पहाडीले गर्नुभयो ।