• २०८१ श्रावाण ११ शुक्रबार

मीनबहादुर विष्टको कवितासङ्ग्रह ‘साला पहाडमें क्या है’ बजारमा

काठमाडौँ ।

कवि मीनबहादुर विष्टका कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् । यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्ने प्रकाशक संस्था किताब पब्लिसर्सले जनाएको छ ।

पश्चिम नेपालको प्यूठानमा २०११ सालमा जन्मिएका कवि विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् । आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागी हुन् ।

विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरुको सगरमाथा’ लगायतका रचनाहरू छन् ।