समाचार

काठमाडौँ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा ’कर्णालीको मर्म’ पुस्तकमाथि परिचर्चा सम्पन्न गरिएको छ। डा. दीपेन्द्र रोकायाद्वारा लेखिएको उक्त पुस्तक प्रकासनमा आएको छ । कर्णाली दुर्गम कि सुगम , कर्णालीका अवस्था ? सम्भावना र चुनौती समेटिएको रोकायाको पुस्तकबारे मंगलबार परिचर्चा गरिएको थियो ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष नवराज खतिवडा, राधिका बुढथापा खत्री र राजेन्द्र महर्जनले पुस्तकमाथि समीक्षा गरे । नवराजले पुस्तकको भाषा, शैलीदेखि विषयवस्तुमाथि मिहीन ढंगले टिप्पणी गरेका थिए । कर्णालीको भौगोलिक विकाससँगै धार्मिक महत्त्व पुस्तकमा रोचक ढंगले उठाइएको नवराजले बताए । राधिकाले पुस्तकमा सामाजिक, सांस्कृतिक, भौगोलिक र इतिहास समेटिए पनि कर्णालीका महिलाको विषय गौण उठान गरिएकामा गुनासो गरिन् । कर्णालीलाई सधैं गरिब र बिचराको दृष्टिकोणले हेर्न नजर परिवर्तन गर्न जरुरी रहेको राधिकाको सुझाव छ । त्यस्तै, लेखक राजेन्द्रले पुस्तकको तथ्य, तथ्यांक र विषय प्रस्तुतिमा पुस्ट्याइँको कमी रहेको बताए ।
रोकायाको यो ८ औं पुस्तक हो । राष्ट्रिय योजनाका आयोगका पूर्वसदस्यसमेत रहेका उनले पुस्तकमा धूवाँ नआउने उद्योगको परिकल्पना गरेको र यसले कर्णालीमा समृद्धि ल्याउन सघाउने बताए । त्यस्तै, कर्णालीका सम्भावित पर्यटकीय क्षेत्रको पनि पुस्तकमा समेटिएको जानकारी रोकायले दिए ।