• २०८१ श्रावाण १० बिहीबार

उज्यालो

कात्यायन

कात्यायन

“तँ अब फर्किन्छस् कि बाबू ?“
आमाको काखमा पल्टिँदै मैले भनें, “अब म फर्किन्न आमा ।“
आमाले मेरो कपाल मुसार्दै र सानोबेलामा झैँ ठुङ्ग मार्दै भन्नुभयो, “हो, अब तँजस्तै सबै विदेशिनेहरू फर्किनु पर्छ !“
धेरैवर्षको प्रवासपछि, म केही दिनअघि मात्र घर फर्केको थिएँ । करिब अठाह्र वर्षअघिको कुरा हो । आमाको कोमल स्पर्शहरू मेरा कपालहरूमा सलबलाई रहेका थिए । मेरा आँखाहरू लोलाउँदै जाँदै थिए । आमाले भन्दै हुनुहुन्थ्यो, “केही अत्याचारीहरूको विरुद्धमा, अनेकौँ आतङकबादीहरू बढिरहेका छन् । समाधान र उज्यालो ल्याउने, तिमीहरूकै हातमा छ अब !“
आमाको कुराले म झसङ्ग भएर ब्युँझेँ, जुरुक्क काखबाट शिर उठाएँ र अगाडि पलेँटी कसेर बस्दै, आमाको अनुहार नियालेँ ।
प्रसङ्ग बदल्दै आमाले भन्नुभयो, “तँ भोकाए जस्तो छ । तँलाई मनपर्ने खानेकुरा बनाउँछु ।“
आमा खाना बनाउन जानुभयो । मैले सोच्दैथिएँ कि, के होला त मलाई मनपर्ने खाना ?
आमाले भान्छाबाट बोलाउनु भयो, “ए, बाबु ! तँलाई मनपर्ने गुन्द्रुकमा भटमास र मस्यौरा हालेर बनाएको छु । छिटो आइज !“
आमाले अझैसम्म पनि बिर्सनु भएको रहेनछ मेरो सानो बेलाको रुचि !
मनभित्रकी आमा !… सत्ताको रूप परिवर्तन भएको छ; सार उस्तै ! फेरि पनि राष्ट्रियता, शक्ति र वैभवहरू; घोडाका तवेलाबाट उछिट्टिएर, हात्तीसारमा सारिएका छन्, सेता हात्तीहरूको क्रूर–पञ्जामा !… हामीले बिर्सेका छैनौँ; तपाईंले चाहेको उज्यालो ! अक्षरहरूका हतियार बन्ने नै छन्, कुनै दिन आमा !


कात्यायन
चाबहिल, काठमाडौं – ७