कविता-हिन्दी

सञ्चारकर्मी कृष्ण अधिकारीको बखतबहादुरको शब्दचित्र स्मृतिगन्थ्र लोकार्पण भएको छ । स्व. बखतबहादुर चित्रकारको दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा ‘बखतबहादुरको शब्दचित्र स्मृतिग्रन्थ’ को लोकार्पण गरिएको हो । राष्ट्रिय समाचार समितिका आलेख समाचार प्रमुख कृष्ण अधिकारीको तयार गरेको स्मृति ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उनका केही लेख र अन्तर्वार्ता, उनीबारे विभिन्न व्यक्तित्वले लेखेका लेख तथा तस्बिरहरू समावेश छ ।
राजधानीकै बासिन्दा भएर पनि आर्थिक अवस्था कमजोर भएका स्व.बखतबहादुरले गरेको जीवन सङ्घर्षलाई पुस्तकमा समावेश गरिएको छ ।
स्व. चित्रकार १९८७ साल माघ १८ मा काठमाडौँको यट्खा टोलमा जन्मिएका थिए । २०७८ साल साउनमा ९१ वर्षको उमेरमा उनको निधन भएको थियो । करिब ३८ वर्ष नेपाल सरकारको विभिन्न पदमा रही शिक्षा क्षेत्रमा योगदान पुर्याएका स्व. चित्रकार एक सामाजिक तथा सांस्कृतिक अभियन्ता पनि थिए । उनी नेपालकै पहिलो सिनेमेटोग्राफरको रूपमा पनि चिनिन्थे ।
पुस्तकका सल्लाहकार तथा साहित्यकार चेतनाथ कणेल ‘हरित’ले नेपालमा दश जोड दुई शिक्षा प्रणालीको आरम्भ गर्न जस्ता शिक्षा क्षेत्रमा धेरै योगदान पुर्याए पनि राष्ट्रले उनलाई उचित सम्मान दिन नसकेको बताए । सञ्चारकर्मीहरू अनुपा श्रेष्ठ तथा अनुषा पौडेलले सञ्चालन गरेको लोकार्पण कार्यक्रममा रवि चित्रकार, चेतनाथ कणेल ‘हरित’, प्राडा भीमदेव भट्ट, कृष्ण प्रजापति, राजभाइ सुवाल, भारती सिलवाल गिरी, मदन चित्रकार, शशि चित्रकार, रिया चित्रकार, डा. आकाश चित्रकारले मन्तव्य राखेका थिए ।उनकी छोरी भावना र छोराहरू रवि र शशि चित्रकारले पुस्तक प्रकाशन गरेका हुन् ।