• २०८१ श्रावाण १ मङ्गलबार

शून्य नै स्वीकार छ

बेञ्जू शर्मा

बेञ्जू शर्मा

सादा फुलस्केपको मेरो मनमा
तिमीले केही रेखाहरू कोर्यौ
केही चित्रहरू बनायौ
तर रङ्ग राख्न किन बिर्सियौ ?
निर्जीव रेखामा मात्र बाँधिदिएर
एउटा अस्थिपञ्जर बनाएर
किन कतै अलमलियौ ?
कसैले तिमीलाई
अँगालोभित्र बाँधेर राख्यो होला
एउटा बन्धनभित्र बन्धित पार्योध होला
मलाई यो अस्थिपञ्जर चाहिँदैन
रङ्गभित्र रँगिएर
गुराँस बन्न चाहिरहेछु
गुराँसका राता ओठहरूले
तिमीलाई सिन्दूर छर्न चाहिरहेछु
आँखाहरूभित्र बन्धित गरेर
तिमीलाई मुटुको जेलमा
जन्मभरका लागि
कैद गर्न चाहिरहेछु ।
तिमी अस्थिपञ्जर मै
मलाई जियाउन चाहन्छौ भने
मेटिदेऊ यी रेखाहरू
सेतो आकाशमा टोलाएको
मेरो मन
शून्यताको गहिरो खाडल खनिएको
मेरो मन
सादा फुलस्केपमै बाँच्न चाहन्छ
कुनै ऋतुहरूलाई यहाँ प्रवेश हुनेछैन
मलाई शून्य–शून्य नै स्वीकार हुनेछ ।


बेञ्जू शर्मा