काठमाडौँ ।
पत्रकार तथा लेखक नवीन अर्यालको नेपाली खेलकुद इतिहासमाथि लेखिएको पुस्तक ’नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ । दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय अर्यालले पुस्तकमा खेल इतिहासका रोचक प्रसङ्ग र सन्दर्भ उजागर गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाह, प्राध्यापक पी खरेल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मङ्गलबार काठमाडौंँमा संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
अर्यालले पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि हालसम्मका खेल इतिहासका घटनाक्रम समेटेको बताएका छन् । साथै खेल इतिहासलाई शिलशिलावद्ध रूपमा पढ्न चाहने पाठकका लागि यो पुस्तक महत्त्वपूर्ण हुने उनले अपेक्षा गरेका छन् ।
यद्यपि पुस्तक लेखनको क्रममा तथ्याङ्कहरू सङ्कलन गर्न निकै सङ्घर्ष गर्नुपरेको उनले प्रतिक्रिया दिएका थिए । पुस्तक सार्वजनिक कार्यक्रममा प्राध्यापक पी खरेलले उक्त पुस्तकमा आफूले कतिपय नयाँ विषयहरू पढ्न पाएको प्रतिक्रिया दिए । २०३० सालदेखि खेलकुद पत्रकारितासमेत गरेका प्राध्यापक खरेलले पुस्तक निकै अब्बल रहेको बताएका थिए ।
यसैबीच खेलकुदमन्त्री लिम्बूले पुस्तकमा नेपाली खेलकुदको विकासक्रमबारे गहन अध्ययन समेटिएको टिप्पणी गरेका थिए । साथै यसले सरकारलाई समेत मार्गदर्शन गर्ने उनको अपेक्षा थियो । अर्यालको पुस्तक क्रिएटिभ बुक्सले प्रकाशन गरेको हो ।