कविता

“आऊ साथी ! संगै बहुलाऊँ“
खडेरी परेर पट्ट फुटेको धर्र्तीले
पानीको सन्सर्ग पाउँदैन भने
उर्वराविहीन बाँझोपनमा
धर्ती हुनुको पूर्णता रहन्न
त्यस्तै
आमा हुनुको परिणतिले
पूर्ण ठान्छन् स्त्रीहरू जसरी
मरूभूमि पनि धर्ती
तथापि निःसन्तान आमाझैं
अतृप्त सधैँ ! प्यासी सधैँ
अनि मान्छे ?
सिकार छ सधैँ
पाशविकता, विभेद र दुव्र्यवहारको
शोषण, अमानवीयता र दुराचारको
अत्याचार र तिरस्कारको
त्यसैले त
जमिन छ, राज्य छैन
सरकार छ, विवेक छैन
नेता छन, धर्म छैन
कारिन्दा छन, कर्म छैन
शरीर छ, लाज छैन
शिर छ, ताज छैन
उफ !
उपेक्षाको उत्कर्षमा
औसत जिन्दगी बाँच्नु कति
परायाले बजाएको ढोलकमा
सधैँभरि नाँच्नु कति
उसैको इसारामा
दुःखेको कम्मर भाँच्नु कति
जन्मको सार्थकता नभेटिएपछि
सायद बाँच्नुको अर्थ सकिन्छ
त्यसैले मृत्युको शङ्खनाद गर्छ मान्छे
किन्तु लाछी कुरा !
आऊ साथी हामी क्रान्तिकारी बनौँ
सुकरातले झैं साट्न सकिन्न
आफ्नैं मृत्युको अनुभुति
त्यसैले सुस्तरी सुस्तरी
तयारी गरौं बहुलाउने
ईष्र्याले जलून पापीहरू
अलिकति चाखौंँ नयाँ मजा
अलिकति भोगौंँ नयाँ संसार
आऊ साथी, सँगै बहुलाऊँ !!
गुरूराज घिमिरे