सिड्नीमा असार दुई गते (भोली)देखि पहिलो नेपाल–अष्ट्रेलिया कला र साहित्य महोत्सव हुँदैछ । दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन हर्सभिलस्थित सिभिक थिएटरमा नेपालबाट आएका लेखक तथा पत्रकार नारायण वाग्लेसँगको अन्तक्रिया, कविता–गजलवाचन, गायन, वाद्यवादन र नृत्य समेटिएका छन् । यस्तै महोत्सवको दोस्रो दिन लेखकहरूले साहित्ययात्राका बारेमा आफ्ना धारणा राख्नुहुनेछ । सिड्नीको दक्षिणी तट मध्येको एक कायमा मा रचना वाचनसहित महोत्सवको समापन हुने लेखक एवं महोत्सव निर्देशक निष्प्रभ सजीले जानकारी दिनुभयो ।
निर्देशक सजीका अनुसार महोत्सव केहीवर्ष अघिनै गर्ने सोच बनेपनि कोरोना महामारीका कारण रोकिएको थियो । ‘हरेक वर्ष कला र साहित्यलाई महोत्सवको रूपमा लिएर जाने कुनै समारोह अष्ट्रेलियामा आयोजना हुन नसकेकाले यो कार्यक्रमको परिकल्पना गरिएको हो’, उहाँले भन्नुभयो, ‘महोत्सव आउँदा वर्षहरूमा अझै फराकिला र फरक विषयहरूमा बहस गर्ने थलो बन्नेमा हामी आशावादी छौँ ।’ कार्यक्रमका प्रमुख अतिथि लेखक नारायण वाग्ले सिड्नी पुगिसक्नु भएकोछ ।
कार्यक्रम दिउँसो साढे १ बजेबाट बेलुका ५ बजेसम्म हुने निर्देशक सजीले जानकारी दिनुभयो । मण्डला लिगलको मुख्य प्रायोजनमा सम्पन्न हुने महोत्सवलाई इनोभेटिम एसोसिएट्स, हार्बर कलेज, राइट एण्ड एसोसिएट्स र साउदर्न एकेडेमीले प्रायोजन गरेका छन् ।